गान्तोक: सिक्किम सरकारले शुरू गरेको नशामुक्त सिक्किम अभियानअन्तर्गत आज अप्पर तादोङ निर्वाचन क्षेत्रमा एक सचेतना कार्यक्रम सम्पन्न भयो। डाँडागाउँस्थित एसकेएम पार्टी कार्यालयमा सम्पन्न भएको कार्यक्रममा क्षेत्र विधायक एवं स्वास्थ्य विभागीय मन्त्री जीटी ढुङ्गेल मुख्य अतिथिकारूपमा उपस्थित थिए। यस अवसरमा मुख्य स्रोतवक्ता मुख्यमन्त्रीका ओएसडी कर्मा सुब्बा रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढुङ्गलेल गत केही दिनअघि डेस्मीद्वारा गरिएको सर्वेक्षणअनुसार तादोङ निर्वाचन विकासको क्षेत्रमा राज्यभरिमै एक नम्बर रहेको बताउँदै अब नशामुक्त निर्वाचन क्षेत्रमा पनि एक नम्बरमा ल्याउनपर्ने कुरामा पार्टी कार्यकर्ता, विभिन्न संगठन र आम मानिसहरूलाई आग्रह गरे। राज्यमा बढदो नशालु पदार्थको धन्दा र सेवनमा नियन्त्रण गर्न सरकार मात्र नभएर सचेत नागरिक पनि अघि आउनु पर्ने अपील गरे। सबैले प्रयास गरेमा मात्र सिक्किम राज्यलाई नशामुक्त बनाउन सकिने उनले मन्तव्य प्रकट गरे। नशालु पदार्थको धन्दा र सेवनलाई नियन्त्रण गर्न घरमा अभिभावक, विद्यालयमा शिक्षकवर्गको भूमिका हुनुपर्ने विषयमा जोड दिए। नानीहरूलाई नशालु पदार्थ जस्तो कुलतबाट वञ्चित राख्न सचेत बन्नुपर्ने बताए। उनले थप जानकारी गराएअनुसार नशालु पदार्थ सेवन गर्दै आइरहेका व्यक्तिहरुलाई परामर्ष दिनु पर्ने साथै पूर्नवास केन्द्रमा लैजानु पर्ने सामाजिक दायित्व रहेको अवगत गराए। यदि यस विषयलाई सबैले गम्भीरतापूर्वक लिएको खण्डमा सिक्किमलाई नशामुक्त राज्य बनाउन सकिने मन्त्री ढुङ्गेलले सम्भावना व्यक्त गरे। तादोङ निर्वाचन क्षेत्र सानो भए तापनि यहाँ धेरै शिक्षित व्यक्तिहरू बसोबासो गर्ने भएकाले यहाँ चालिसभन्दा धेर संस्थाहरू सक्रियरूपमा सञ्चालनमा आएको बताए। उनले नशालु पदार्थ सेवनकर्ताहरू भन्दा अधिक यसको धन्दा गर्नेहरूमाथि निगरानी राख्न आवश्यक रहेको सुझाउ दिए। उनले नशालु पदार्थको धन्दा गर्नेहरूविरूद्ध कडा कारवाही हुनुपर्ने बिचार राखे। मन्त्रीले थप जानकारी गराएअनुसार सरकारी कर्मचारीहरूले पनि नशालु पदार्थको सेवन गर्दै आएको थाह लागेको र उनीहरूविरूद्ध पनि कारवाही गर्ने बताए। सिक्किमलाई नशामुक्त राज्य बनाउनको निम्ति मुख्यमन्त्री स्वय लागिपरेको हुनाले केही दिन अघिदेखि नशालु पदार्थको धन्दा गर्नेहरूलाई पुलिसले पक्राउ गरिरहेको जानकारी गराए। उनले थप बताएअनुसार नशामुक्त राज्य साथै निर्वाचन क्षेत्र बनाउन घरदेखि नै सचेतना अभियान शुरू गर्नुपर्ने सुझाउ दिए। प्रत्येक विद्यालयले विद्यालय सञ्चालन समितिसँग सहकार्य गरेर स्थानीय गैरसरकारी संस्थालाई साथमा लिएर काम गर्नुपर्ने आग्रह गरे। एक महिनाभरिमा तादोङ निर्वाचन क्षेत्रमा कति सुधार आउँछ, त्यसबारेमा अर्को समीक्षा सभामा रिपोर्ट बुझाउने जानकारी गराए। यसरी नै तादोङ निर्वाचन क्षेत्रलाई सुन्दरीकरण गर्न आगामी २६ जुलाईको दिन मे फेयर फाटकदेखि पानी हाउससम्मको खाली जमीनमा बिरूवा रोपिने जानकारी गराए। यसरी नै आगामी १२ जुलाईको दिन लुम्से विद्यालयमा रक्तदान शिविर आयोजन गरिने जानकारी पनि गराए। सोही क्रममा मुख्यमन्त्रीका ओएसडी कर्मा सुब्बाले नशालु पदार्थको समस्या वर्तमान परिपेक्ष्यमा शहर बजारमा मात्र नभएर गाउँ बस्तीमा पनि देखिएको बताए। मुख्यमन्त्री प्रेमसिंह तामाङ यस विषयमा अति नै चिन्तित रहेको र यसलाई जरैबाट समाप्त गर्न तत्पर रहेको बताए।











