गेजिङमा बेठी उत्सव भव्यतापूर्वक पालन

IMG-20250702-WA0165

गेजिङ: मिडल गेजिङको अमचोङमा आज धान रोपाइँ तथा बेठी उत्सव २०२५ भव्यताका साथ सम्पन्न भयो। कृषि परम्परा, सामुहिक सहभागिता र आधुनिक चेतनाको समिश्रण प्रस्तुत गर्न उत्सवले स्थानीय कृषक, अधिकारी, जनप्रतिनिधि र सर्वसाधारणलाई खेतमा उतारेको थियो। गेजिङ जिल्लामा भएको उक्त कार्यक्रमलाई जिल्ला प्रशासन तथा कृषि वागवानी विभागको संयुक्त पहलमा आयोजन गरिएको हो। कार्यक्रमको मुख्य आकर्षण सबैले खेतमा उत्रेर परम्परागत शैलीमा धान रोपाइँ गरे। महिलाहरूले “रोपाइँ मेलो” गाएर वातावरणलाई झनै जीवन्त बनाएका थिए। कार्यक्रममा क्षेत्र विधायक तथा पूर्व कृषि मन्त्री लोकनाथ शर्मा प्रमुख अतिथिका रूपमा सहभागी थिए। उनले आफ्नो मन्तव्यमा भने, धान रोपाइँ केवल खेतीपातीको काम मात्र होइन, यो हाम्रो संस्कृति, सामुहिक श्रम र उत्सवको प्रतीक हो। यस्ता परम्परागत उत्सवले युवाहरूलाई कृषितर्फ आकर्षित गर्न ठूलो भूमिका खेल्न सक्ने बताए। कार्यक्रममा उपस्थित जिल्लापाल तेन्जिङ डी डेन्जोङ्पाले कृषिमा आत्मनिर्भरता ल्याउन प्रविधिको प्रयोग आवश्यक रहेको बताए। कृषि वागवानी विभागका अतिरिक्त निर्देशक कर्म शेर्पाले कार्यक्रमको उद्देश्य र महत्वबारे जानकारी गराएका थिए। यस उत्सवमा मिल्क यूनियन अध्यक्ष यामकुमार मिश्र, विभिन्न सरकारी कार्यालय प्रमुख, ग्राम पञ्चायत सदस्य, प्रगतिशील किसान तथा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो। कार्यक्रमको शुरुमा अतिथिहरूलाई खेतमै माला लगाएर स्वागत गरियो। जुन दृश्यले परम्परा र आत्मीयताको सम्झना गराएको थियो। उत्सवको अर्को विशेष पक्ष स्थानिय उत्पादनहरूबाट तयार गरिएका परिकारहरूको स्वाद चाख्ने अवसर थियो। साथै, स्थानीय बालबालिका र युवा समूहहरूले प्रस्तुत गरेका सांस्कृतिक कार्यक्रमले उपस्थित दर्शकहरूलाई मनोरञ्जनका साथ परम्पराको अनुभव गराएका थिए। यस उत्सवले कृषकलाई उत्साहित गर्नुका साथै कृषि पर्यटनको सम्भावनालाई समेत उजागर गरेको छ। खेत, हलो, धान, पानी र मेलाको समिश्रणले भविष्यमा यस्ता कार्यक्रमले कृषिमा नवप्रवर्तन र रोजगारीको अवसरसमेत सृजना गर्न सक्ने सम्भावना देखाएको छ। मिडल गेजिङमा सम्पन्न भएको धान रोपाइँ तथा बेठी उत्सव २०२५ केवल कृषकको चाड मात्र नभई समुदायको एकता, परम्पराको संरक्षण र प्रगतिशील सोचको उत्सव बनेर स्मरणीय बनेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement