गान्तोक: देश अनि विश्वका विभिन्न प्रान्तमा जस्तै सिक्किममा पनि ११औं अन्तर्राष्ट्रिय योग दिवस पालन गरियो। विभिन्न निकायद्वारा राज्यका विभिन्न प्रान्तमा उत्साहपूर्वक योग दिवस कार्यक्रम आयोजना गरिएको थियो। यसै क्रममा राष्ट्रिय आयुष मिशनको तत्वावधानमा गान्तोकको पाल्जोर इण्डोर जिम्नाजियम हलमा राज्यस्तरीय योग शिविर आयोजना गरिएको थियो जसमा अन्यहरूको साथमा राज्यपाल ओम प्रकाश माथुर र मुख्यमन्त्री प्रेमसिंह तामाङको विशेष उपस्थिति रहेको थियो।
यस अवसरमा अन्य सहभागीहरूको साथमा राज्यपाल र मुख्यमन्त्रीले विभिन्न योग अभ्यास गरे। यस अघि ११औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा आन्ध्र प्रदेशको विशाखापतनममा आयोजित राष्ट्रियस्तरको कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीको सिधा सम्बोधनको पनि प्रदर्शनी गरिएको थियो। कार्यक्रममा विधानसभा अध्यक्ष एमएन दाहाल, लोकसभा सांसद इन्द्र हाङ सुब्बा, स्वास्थ्य मन्त्री जीटी ढुङ्गेल, मन्त्री अनि विधायकगण साथै विभिन्न विभागका शीर्ष अधिकारीहरूको उपस्थिति रहेको थियो।
पछि पत्रकारहरूसित कुराकानी गर्दै मुख्यमन्त्री तामाङले अन्तर्राष्ट्रिय योग दिवसरको अवसरमा सम्पूर्ण राज्यवासीलाई शुभकामना व्यक्त गरे। यसको साथै उनले देशका प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिए। प्रधानमन्त्री मोदीको नेतृत्वमा आज भारत योगमा विश्व गुरू बनेको उनले बताए। प्रधानमन्त्री मोदीको पहलमा २०१४ देखि विश्वको प्रत्येक देशमा नै योग अभ्यास गरिन थालेको छ, उनले भने। सिक्किममा आज पाल्जोर स्टेडियममा मात्र नभएर विभिन्न स्थान साथै सबै विद्यालयमा अन्तर्राष्ट्रिय योग दिवस पालन गरिएको मुख्यमन्त्रीले थप बताए।
मुख्यमन्त्री तामाङले राज्यका युवाहरूलाई योगसित जोड़िने अपील गरेका छन्। योगले मानसिक साथै शारीरिक रुपमा स्वस्थ रहन्छौं, उनले भने।