सोनादा: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको अभियान्त्रिकी विभाग दार्जीलिङद्धारा नवनिर्मित रंगबुल ग्राम पञ्चायत भवनको उदघाटन गरिएको छ। उक्त नवनिर्मित पञ्चायत भवनको उदघाटन प्रमुख अतिथिको रुपमा उपस्थित जीटीएको डेपुटी चेयरम्यान एंव क्षेत्रीय सभासद राजेस चौहानको बाहुलीबाट गरिएको छ। यस उदघाटन कार्यक्रममा रंगबुल ग्राम पञ्चायतकी प्रधान योजना सुब्बा प्रधानको विशेष उपस्थितिमा आयोजना गरिएको छ। कार्यक्रममा जोरबंगला सुखेपोखरी खण्ड पञ्चायत समितिको सभापति सोना डोमा डुक्पा, कर्माध्यक्ष जीवन प्रधान, धोत्रे कलेज भेल्ली ग्राम पञ्चायतको प्रधान अनिता तामाङ लगायत अन्यहरु उपस्थित रहेका थिए। यस उदघाटन कार्यक्रमलाई रंगबुल ग्राम पञ्चायतको सचिव कमल लामाले सञ्चालन गरेका थिए। कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा उपस्थित गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको डेपुटी चेयरम्यान एंव क्षेत्रीय सभासद राजेस चौहान, जीवन प्रधान, सोना डोमा डुक्पा, योजना सुब्बा आदिले वक्तव्य राखेका थिए। कार्यक्रममा प्रमुख अतिथिको रुपमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको डेपुटी चेयरम्यान एंव क्षेत्रीय सभासद राजेस चौहानले आफ्नो सम्बोधनमा लामो समयपछि जीटीएले पञ्चसयतीराज फर्काएर ल्याएको छ र पञ्चायत व्यवस्था शुरु भएपछि विभिन्न विकासका कार्यहरू धमाधम भईरहेको छ र विभिन्न स्थानहरुमा रहेका पञ्चायत भवनहरुको पनि मरमत्ति र नवीकरणको कार्य भईरहेको छ। यसै क्रममा रंगबुल ग्राम पञ्चायतको नयाँ भवन नवीकरण भएर उदघाटन गरिएको जानकारी गराएका छन्। उनले आफ्नो सम्बोधनमा रंगबुल ग्राम पञ्चायतले प्रत्येक महिनामा एकपल्ट यस क्षेत्रमा रहेका विभिन्न संघ संस्थाहरु र सामाजका प्रतिनिधिहरुलाई लिएर सभा गर्नु पर्ने सुझाव दिएका छन्।

उनले समाजका प्रतिनिधिहरुलाई लिएर मासिक रुपमा सभा आयोजना गरिएको खण्डमा प्रत्येक गाउँ ठाउँको मानिसहरुको समस्याहरु बुझ्न सजिलो हुनेछ र जनसाधारणको समस्याहरु समाधान गर्न सकिन्छ भनी बताएका छन्। चौहानले यसरी सभा गर्दा जनताले कता कता र कस्तो समस्याहरु भोग्न परिरहेको छ ती सबै कुराहरु बुझ्न सक्ने साथै जनताको विभिन्न समस्याहरु समाधान गर्न सजिलो हुने सुझाव दिएका छन्।