खरसाङ: खरसाङमा ११औँ अन्तर्राष्ट्रिय योग दिवस उत्साहका साथ पालन गरिएको छ। खरसाङको मोडर्न इङ्लिश स्कूलमा योगाचार्य अनुप रिजालद्वारा योग मुद्राहरूको प्रदर्शन गरिएको छ। खरसाङको मोडर्न इङ्लिश स्कूलमा ११औँ अन्तर्राष्ट्रिय योग दिवस श्रद्धा र उत्साहका साथ मनाइएको छ। कार्यक्रममा योगाचार्य अनुप रिजालले विद्यार्थीहरू र उपस्थित सबैका लागि विभिन्न योग मुद्राहरू देखाउँदै भने, योगले मन, विचार, चित्त, तेज, ऊर्जा, एकाग्रता र आत्मसंयमलाई सन्तुलनमा राख्न महत्त्वपूर्ण भूमिका खेल्दछ। यस कार्यक्रममा मुख्य अतिथिको रुपमा खरसाङकी एसडीपीओ आईपीएस नीरजा अनीश शाह उपस्थित रहेका थिए। यस अवसरमा उनले भनिन्, “योग भारतको जीवनशैली र सांस्कृतिक विरासतको अनुपम उपहार हो। आज जब विश्वभरि तनाव र असन्तुलनको अवस्था छ, त्यस्तो समयमा योग सम्पूर्ण मानव जातिका लागि वरदान बनिरहेको छ।”

उनले सबैलाई योगलाई आफ्नो दैनिक जीवन शैलीमा समावेश गर्न अनुरोध गरिन्। क्रीड़ा भारतीका सल्लाहकार तथा नेपाली सांस्कृतिक परिषदका अखिल भारतीय स्तरका कार्यकारिणी अध्यक्ष अशोक चौरासियाले पनि आफ्नो मन्तव्य राखेका थिए। उनले योग दिवस विषयमा बोल्दै भने, “२०१४ सेप्टेम्बरमा प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र संघको महासभामा योगलाई भारतको प्राचीन समग्र उपचार पद्धतिका रूपमा प्रस्तुत गर्दै विश्व मानव कल्याणका चिन्तनहरू व्यक्त गर्नुभएको थियो।”
उनले “बैक-टू-बेसिक्स” को उदाहरण दिँदै भने, आजको जलवायु परिवर्तन, मानसिक असन्तुलन र व्यक्तिगत असावधानीको समयमा योग अत्यन्तै आवश्यक भएको छ।

योगको महत्वलाई विश्वले स्वीकार गरिसकेको सन्दर्भमा उनले जानकारी दिन्दै भने , संयुक्त राष्ट्रका १७७ देशहरूले यसको समर्थन गरेका थिए, जसमा ४६ मुस्लिम देशहरू समेत थिए भनी बताएका छन्। यद्यपि शुरुमा पाकिस्तान, टर्की, दक्षिण कोरिया जस्ता केही देशहरूले विरोध जनाए पनि आज यमनबाहेक विश्वका १९२ देशहरूमा योगाभ्यास गरिँदैछ। भारतभर एक लाखभन्दा बढी स्थानहरूमा योग दिवस मनाइएको छ, जसमा हाम्रोखरसाङ पनि एक हो।

कार्यक्रमको सञ्चालन क्रीड़ा भारतीका संयोजक दिव्यतम अधिकारीले गरेका थिए भने धन्यवाद ज्ञापन सह-आयोजक सपन सुब्बाद्वारा गरिएको थियो। सम्पूर्ण व्यवस्थापन मोडर्न स्कूलका निर्देशक अश्विनी अग्रवालद्वारा गरिएको जानकारी प्राप्त भएको छ। कार्यक्रममा सन्त अल्फन्सेस स्कूल, सन्त एन्थोनी स्कूल, पुष्पारानी उच्चत्तर माध्यमिक विद्यालय, रामकृष्ण कन्या उच्चत्तर माध्यमिक विद्यालय, हिमाली बोर्डिङ स्कूलका विद्यार्थीहरूको पनि सक्रिय सहभागिता रहेको थियो। यसको साथै क्रीड़ा भारतीका सम्पूर्ण पदाधिकारी, युवावर्ग तथा खरसाङ बजारका व्यवसायीहरू समेत उपस्थिति रहेका थिए।