महिलामा ३० वर्ष कटेपछि किन बढ्छ पेटको बोसो?

IMG-20250616-WA0072

डा. उपमा बस्नेत, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

महिलाहरूले ३० वर्षको उमेरपछि हर्मोनल परिवर्तन, तनाव, अनियमित खानपान र शारीरिक गतिविधिको कमीले पेटको बोसो बढ्छ।
उमेर बढेसँगै मेटाबोलिज्म कम हुने र हर्मोनल असन्तुलनले पेटको बोसो बढ्ने मुख्य कारण हो, जसले दीर्घकालीन स्वास्थ्य जोखिम बढाउँछ।
पेटको बोसो घटाउन स्वस्थ खानपान, नियमित व्यायाम, पर्याप्त निद्रा र पानी पिउने अभ्यास गर्न सुझाव दिइन्छ।
महिलाहरूले ३० वर्षको उमेर पार गरेपछि आफ्नो शरीरमा विभिन्न परिवर्तन अनुभव गर्छन्। यसमध्ये पेटको बोसो बढ्ने समस्या एक सामान्य तर गम्भीर चिन्ताको विषय हो। पेटको बोसो बढ्नु केवल शारीरिक सौन्दर्यसँग सम्बन्धित मात्र होइन, यसले स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।”
पेटको बोसो बढ्दा मधुमेह, उच्च रक्तचाप, हृदयरोग र अन्य दीर्घकालीन रोगहरूको जोखिम बढ्छ। त्यसैले, प्रत्येक महिलाले ३० वर्षको उमेर पछि आफ्नो पेटको बोसो किन बढ्दैछ? यसलाई कम कसरी गर्ने बुझ्न आवश्यक छ।
किन पेटको बोसो बढ्छ?
३० वर्षको उमेर पछि महिलाहरूमा पेटको बोसो बढ्नु सामान्य समस्या हो। विशेषत यो उमेरमा हर्मोनल उत्तरचढावले गर्दा बोसो बढ्छ। त्यस्तै तनाव, खानपान, अनिद्रा र शारीरिक गतिविधिको कमीले पनि यो समस्या हुनसक्छ।
हर्मोनल परिवर्तन:
३० वर्षको उमेरपछि महिलाहरूको शरीरमा हर्मोनल परिवर्तनहरू तीव्र रूपमा देखिन्छन्। विशेषगरी, ईस्ट्रोजेन र प्रोजेस्टेरोन हार्मोनको स्तरमा उतारचढाव हुन्छ। यी हर्मोनहरूले शरीरको मेटाबोलिज्मलाई नियन्त्रण गर्छन्।
जब यी हर्मोनहरूको सन्तुलन बिग्रन्छ, शरीरको क्यालोरी खपत गर्ने क्षमता कम हुन्छ। फलस्वरूप, खाएको खाना ऊर्जामा परिणत हुनुको सट्टा बोसोको रूपमा पेट, कम्मर र तल्लो पेटमा जम्मा हुन्छ।
साथै, यो उमेरमा धेरैजसो महिलालाई पोलिसिस्टिक ओभरी सिन्ड्रोम जस्ता समस्याहरूले पनि हर्मोनल असन्तुलन पार्छ। जसले पेटको बोसो बढाउने प्रमुख कारण बन्छ।
पोलिसिस्टिक ओभरी सिन्ड्रोम एक हर्मोनल विकार हो, जुन प्रजनन् उमेरका महिलाहरूमा सामान्य रूपमा देखिन्छ। यो अवस्थामा महिलाको अण्डाशयमा साना–साना सिस्टले भरिएको थैली बन्न सक्छ, जसले हर्मोन सन्तुलनमा असर गर्छ।
तनाव र निद्राको कमी:
हर्मोनल कारण मात्र होइन। यो उमेरमा तनाव र अनिद्राले पनि पेटको बोसो बढाउँछ हुन्छ। ३० वर्षको उमेरपछि धेरैजसो महिलाहरूले घर, परिवार, कार्यालय र अन्य धेरै जिम्मेवारीहरू सम्हालिरहेका हुन्छन्।
यसले मानसिक तनाव बढाउँछ। मानसिक तनाव बढी हुँदा यसले निद्रालाई असर गर्छ। पर्याप्त निद्राको अभाव र अत्यधिक तनावले शरीरमा कोर्टिसोल हर्मोन बढाएर मेटाबोलिज्मलाई सुस्त बनाउँछ। जुन पेटको बोसो बढ्नुको मुख्य कारण हो।
अध्ययनहरुले पनि ६ घण्टाभन्दा कम सुत्ने महिलाहरूमा पेटको बोसो बढ्ने सम्भावना २२ प्रतिशतले बढी हुने देखाएको छ।
मेटाबोलिज्ममा कमी:
उमेर बढ्दै जाँदा शरीरको मेटाबोलिक दर स्वाभाविक रूपमा कम हुन्छ। मेटाबोलिज्म भनेको शरीरले खानालाई ऊर्जामा परिणत गर्ने प्रक्रिया हो। ३० वर्षको उमेरपछि यो प्रक्रिया सुस्त हुन्छ, जसले गर्दा पहिलेको जस्तो खानपानले पनि बोसो जम्मा हुन थाल्छ।
विशेषगरी, पेटको क्षेत्रमा बोसो जम्मा हुने सम्भावना बढी हुन्छ किनभने यो क्षेत्रमा बोसो कोषिकाहरू सक्रिय हुन्छन्।
सरल शब्दमा भन्नुपर्दा, हर्मोनल परिवर्तनका कारण खानालाई ऊर्जामा रूपान्तरण गर्ने प्रक्रिया छिटो दरमा सुस्त हुन्छ। यस्तो अवस्थामा यदि खाने बानी पहिले जस्तै रह्यो भने पेटको बोसो बढ्न थाल्छ।
अनियमित खानपान:
व्यस्त जीवनशैलीले घर, जागिर र बच्चाको हेरचाहमा समय अभाव, कतिपय अवस्थामा परिवारलाई प्राथमिकता दिँदा आफ्नो खानपानमा ध्यान पुग्दैन। तनाव बढ्दा मानसिक दबाबले भोक नियन्त्रण गर्ने हर्मोन बिग्रने कारणले पनि खानपानको टुंगो नहुनसक्छ।
यसरी खानपानको निश्चित समय छैन भने खाने समय अनियमित हुँदा शरीरको पाचन प्रक्रियामा असर पर्छ, जसले मेटाबोलिजमलाई थप कमजोर बनाउँछ।
कम पानी पिउनु:
काम गर्ने महिला होस् वा गृहिणी, महिलाहरूले पर्याप्त पानी नपिउँदा शरीरको विषाक्त पदार्थहरू बाहिर निस्कँदैनन्, जसले मेटाबोलिजमलाई सुस्त बनाउँछ। पानीको कमीले पाचन प्रक्रिया पनि कमजोर हुन्छ, जसले तौल बढ्ने सम्भावना बढाउँछ।
शारीरिक गतिविधिको कमी:
आधुनिक जीवनशैलीमा धेरै समय बसेर बिताइन्छ, चाहे त्यो कार्यालयको डेस्कमा होस् वा घरमा। शारीरिक गतिविधिको कमीले क्यालोरी खपत कम हुन्छ, जसले बोसो जम्मा हुने प्रक्रियालाई तीव्र बनाउँछ। विशेषगरी, पेटको मांसपेशीहरू निष्क्रिय हुँदा बोसो त्यही क्षेत्रमा जम्मा हुन्छ।
आनुवंशिक कारण:
कतिपय अवस्थामा, पेटको बोसो बढ्नु आनुवंशिक कारणले पनि हुन सक्छ। यदि परिवारमा मोटोपन वा पेटको बोसोको समस्या छ भने, यो जोखिम बढी हुन्छ। यद्यपि, आनुवंशिक कारणले मात्र नभई जीवनशैलीले पनि यो समस्यालाई प्रभावित गर्छ।
पेटको बोसो घटाउन के गर्ने?

  • खानपानमा उच्च फाइबर, प्रोटिन र बदाम, चिया सिड, दाल र फलफूल जस्ता स्वस्थ बोसो समावेश गर्न सकिन्छ। सकेसम्म, चिनी र परिष्कृत कार्बोहाइड्रेट भएका खाद्य पदार्थहरूबाट टाढा रहनुपर्छ।
  • हरेक दिन ३० मिनेटको लागि छिटो हिँडाइ, योग, कार्डियो व्यायाम र प्राणायाम जस्ता व्यायाम गर्नुपर्छ। यसले शरीरको अतिरिक्त बोसो घटाउन मद्दत गर्छ।
  • मानसिक र शारीरिक तनाव कम गर्न, हरेक दिन २० देखि ३० मिनेट योग वा ध्यान जस्ता गतिविधिहरू गर्न सकिन्छ।
  • हरेक दिन २ देखि ३ लिटर पानी पिउन सकिन्छ। पर्याप्त मात्रामा पानी पिउनाले शरीरबाट विषाक्त पदार्थहरू बाहिर निस्कन्छ र मेटाबोलिजमलाई गति दिन्छ।
  • ७ देखि ८ घण्टा सुत्नुपर्छ। अपर्याप्त निद्राले मेटाबोलिज्म र बोसो नियन्त्रणमा असर गर्छ।
  • बिस्तारै र निरन्तर माथि उल्लेखित प्रयासले स्वस्थ तरिकाले बोसो घटाउन सकिन्छ। यदि आवश्यक भए पोषणविद् वा चिकित्सकको सल्लाह लिन सकिन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement