खरसाङ: खरसाङको डाउहिल रोड, वार्ड नम्बर ८ निवासी सुमीरण देवानले सिक्किम विश्वविद्यालयबाट आफ्नो विद्यावारिधि (पीएचडी) पूरा गरेकी छन्। उनले आफ्नो कार्य शोध गत ९ मई २०२५ का दिन पूर्ण गरेकी छन्। सिक्किम विश्वविद्यालयका वनस्पति विभागका प्रोफेसर धनिराज छेत्री मुख्य निर्देशक अनि यसै विश्वविद्यालयका प्राणीशास्त्र विभागका प्राध्यापक डा. बिशु सिंह सह-निर्देशक रहेका सुमीरण देवानको शोधकार्य सिक्किम हिमालयमा पाइने वनस्पति टिम्बुरमाथि गरिएको छ। यस शोधको अन्तिम आधिकारिक दिक्षान्त समारोह विश्वविद्यालयको भव्य कार्यक्रम अन्तर्गत गरिनेछ। खरसाङ नगरपालिकाका पूर्व पार्षद भुषण देवान अनि खरसाङ सेन्ट जोसेफ स्कूलकी शिक्षिका मुना देवानकी एकमात्र सुपुत्री डा. सुमीरण देवानले सेन्ट हेलेन्स स्कूल खरसाङबाट आफ्नो आइसीएससी, बेङडुबी आर्मी स्कूलबाट आइएससी, कलकता आशुतोस कलेजबाट बोटानी अनर्स गर्दै सिक्किम विश्वविद्यालयबाट वनस्पति विभागबाट स्नातकोत्तर उत्कृष्ट अंकमा उतीर्ण गरेकी थिइन्। उनले युजिसी (सीएसआइआर) नेट उत्तीर्ण गरेर सिक्किम विश्वविद्यालयमा नै सन् २०२१ देखि आफ्नो विद्यावारिधि (पीएचडी) का निम्ति शोध रेजिस्ट्रेसन् गरेकी थिइन्। सानै उमेरदेखि उच्च अध्ययनमा रुचि राख्ने सुमीरण देवानले सफलतापूर्वक पीएचडी शोध पूर्ण गरेर आफ्ना परिवार, इस्ट-मित्र, अनि खरसाङ क्षेत्रलाई नै गर्वान्तित गरेकी छन्। उनको सफलताले यस भेगका उच्च अध्ययन अनि शोध अध्ययनमा रुचि राख्ने समस्त युवावर्गलाई प्रेरणा अनि प्रोत्साहन प्रदान गरेको छ। डा. सुमीरण देवानले आफ्ना अध्ययनका क्रममा गरेका सङ्घर्षमा पाइएको सहयोग अनि सदिच्छाका लागि आफ्ना परिवार, इस्ट-मित्र, लगायत सबै शुभचिन्तकहरूलाई हार्दिक धन्यवाद दिएकी छन्।