खरसाङ: खरसाङको लङ्भ्यू चियाबारीको सम्पूर्ण श्रमिक संगठनहरू एकै मञ्चमा आएर लङ्भ्यू चियाबारी परिसरमा गेट मिटिङ गरेको जानकारी प्राप्त भएको छ। यस गेट मिटिङमा श्रमिक संगठनहरूले लङ्भ्यू चियाबारीको दीर्घकालीन माग श्रमिकवर्गको वेतन समयमा दिनुपर्ने, अवकाशप्राप्त कर्मचारीहरूको ग्रेजुएटी दिनुपर्ने तथा चियाबारीमा मशीनद्वारा पत्ती काट्न झट्ट बन्द गर्नुपर्ने, काँचो पत्ती अन्य स्थान लान नपाउने साथै चियाबारीमा आइतबारको छुट्टीको दिन पनि दश रुपियाँ प्रति किलो पत्ती मालिक पक्षले टिपाउन नपाउने विषयमा कुरा उठाए। यसबारे सन्त मेरिज तीन ग्राम पञ्चायत प्रधान साथै भागोप्रमो श्रमिक संगठन, खरसाङ महुकमा समितिको संयोजक मणिराज डुम्जनले लङ्भ्यूका सम्पूर्ण श्रमिकहरू कुनै पार्टी नछुट्याई एकजुट भएर श्रमिकहरूको हक र अधिकारको निम्ति गेट मिटिङ गरेको जनाए। प्रधानले आगामी २७ मई मंगलबारको दिन मालिकले लङ्भ्यू चियाबारीको सञ्चालन गर्न रोडम्याप तयार गरी वर्ता गर्ने जनाउँदै उक्त दिनसम्मको लागि गेट मिटिङ स्थगित गरेको तथा मंगलबारसम्म श्रमिकहरूले केवल आफ्नो ठिका तेह्रो किलो मात्र चियापत्ती टिप्ने जनाए। तिनले जीटीए प्रमुख कार्यपाल अनित थापाले विगतमा लङ्भ्यू चियाबारीको निम्ति धेरै कार्य गरेको र वर्तमानमा पनि उनी लङ्भ्यूको निम्ति धेरै चिन्तित रहेको जनाए। डुम्जनले प्रबन्धक पक्षले लङ्भ्यू चियाबारीमा मशीनद्वारा काँचो पत्ती टिपाइएकोमा कड़ा निन्दा गर्दै प्रबन्धकपक्षले चियाबारीको श्रमिकहरूलाई नै अतिरिक्त ज्याला दिएर पत्ती टिपाउन पर्ने जनाए भनी जिनोद परियारले जानकारी दिएका छन्।