काेलकत्ता: आईपीएल २०२५-को ३९औं म्याचमा गुजरात टाइटन्सले काेलकत्ता नाइट राइडर्स (केकेआर)-लाई ३९ रनले पराजित गऱ्यो। यस जीतको साथ गुजरात टाइटन्स ८ वटा म्याचमा १२ पोइण्ट्सको साथ आईपीएल पोइण्ट्स टेबलको शीर्ष स्थानमा पुग्यो। यसरी लगातार दोस्रो हारको सम्मुखीन हुने केकेआर ६ पोइण्ट्सको साथ सातौं स्थानमा रहेको छ। ईडन गार्डन्समा टस हारेर पहिला ब्याटिंग गर्दै गुजरात टाइटन्सले २० ओभरमा ३ विकेट गुमाएर १९८ रन बनायो। कप्तान शुभमन गिलले ५५ बलमा सर्वाधिक ९० रन बनाए। उनले १० वटा चौका र ३ वटा छक्का लगाए। गिलले साथी ओपनर साई सुदर्शनसँग पहिलो विकेटको निम्ति १२.२ ओभरमा ११४ रनको पार्टनरशीप गरे। साई सुदर्शनले ३६ बलमा ६ वटा चौका र एउटा छक्काको साथ ५२ रन बनाए। साई सुदर्शन आउट भएपछि गिलले जोस बटलरबाट असल साथ पाए। यी दुईजनाले मिलेर स्कोर १७२ रनसम्म पुऱ्याए। गिल आउट भएपछि बटलरले गुजरातलाई १९८ रनसम्म पुऱ्याए। बटलरले अविजित ४१ रन बनाए। उनले २३ बल खेलेर ८ वटा चौका लगाए। शाहरुख खानले अविजित ११ रन बनाए। त्यसपछि केकेआर-ले २० ओभरमा ८ विकेट गुमाएर १५९ रन मात्र बनाउन सक्यो। लक्ष्यलाई पीछा गर्दै केकेआर-बाट कप्तान अजिंक्य रहाणेलाई छोड़ेर अन्य कसैले उल्लेखनीय योगदान दिन सकेनन्। रहाणेले ५ वटा चौका र एउटा छक्काको साथ ३६ बल खेलेर ५० रन बनाए। यसबाहेक अंगकृष रघुवंशीले अविजित २७ र आन्द्रे रसेलले २१ रन बनाए। गुजरातका बलरहरूमा राशिद खान र प्रसिद्ध कृष्णाले २-२ विकेट लिए।








