लण्डन: ईंग्लिश प्रीमियर लीग फूटबल प्रतियोगिताको जारी सीजनमा असाधारण फर्ममा रहने लिभरपूलले रोमाञ्चक जीत हासिल गऱ्यो। आर्सनल र चेल्सीले पनि आ-आफ्नो म्याच जित्यो भने म्यानचेष्टर युनाइटेडले चाहिँ फेरि हारको सामना गर्नु पऱ्यो। आइतवार राति खेलिएको म्याचमा लिभरपूलले लिस्टर सिटीविरुद्ध १-०-ले जीत हासिल गऱ्यो। यस अवे म्याचमा ५९ प्रतिशत पोजेशनको साथ खेल्दै २८ पल्ट विपक्षी पोस्टमा हमला गर्ने लिभरपूललाई एकमात्र गोलको निम्ति निक्कै लामो प्रतीक्षा गर्नु पऱ्यो। गोलरहित पहिलो हाफको खेलपछि लिभरपूललाई ट्रेण्ट एलेक्जेण्डर-अर्नोल्डले जीत दिलाए। सब्स्टीट्यूड खेलाड़ीको रूपमा मैदानमा ओर्लिएर एलेक्जेण्डर-अर्नोल्डले ७६औं मिनटमा गोल गरे। यस जीतपछि लिभरपूल ३३ वटा म्याचमा ७९ पोइण्ट्सको साथ प्रीमियर लीग पोइण्ट्स टेबलको शीर्ष स्थानमा कायम रह्यो। आर्सनलले चाहिँ एकतर्फी जीत हासिल गऱ्यो। लिएण्ड्रो ट्रोसार्डको २ गोलको सहायताले आर्सनलले इप्सविच टाउनलाई ४-०-ले पिट्यो। यस अवे म्याचमा ७५ प्रतिशत पोजेशनको साथ खेल्ने आर्सनलबाट ट्रोसार्डले १४औं र ६९औं मिनटमा २ गोल गरे। यसबाहेक गेब्रिएल मार्टिनेल्लीले २८औं र एथान न्वानेरीले ८८औं मिनटमा गोल गरे। इप्सविच टाउनका डिफेण्डर लिफ डेविसलाई ३२औं मिनटमा रेड कार्ड देखाइयो। यस जीतपछि आर्सनल ६६ पोइण्ट्सको साथ दोस्रो स्थानमा कायम रह्यो।

म्यानचेष्टर युनाइटेडले चाहिँ वूल्भ्सविरुद्ध ०-१-ले अझ एउटा निराशाजनक हारको सामना गर्नु पऱ्यो। आफ्नो होम ग्राउण्ड ओल्ड ट्रेफर्डमा ६० प्रतिशत पोजेशनको साथ खेले पनि युनाइटेडले गोल गर्न सकेन। यसको विपरीत पाब्लो साराबियाले ७७औं मिनटमा दिलाएको गोलले वूल्भ्सलाई विजयी बनायो। प्रीमियर लीगको जारी सीजनमा यो युनाइटेडको १५औं हार हो अनि टीम अहिले ३८ पोइण्ट्सको साथ गोल अन्तरको आधारमा १४औं स्थानमा रहेको छ। यसरी १५औं स्थानमा रहने वूल्भ्स (वूल्भरह्याम्प्टन)-सँग पनि ३८ पोइण्ट्स नै रहेको छ। चेल्सीले चाहिँ फूलह्यामविरुद्ध २-१-ले रोमाञ्चक जीत हासिल गऱ्यो। यस अवे म्याचमा ६० प्रतिशत पोजेशनको साथ खेल्ने चेल्सी लगभग अन्तिम क्षणसम्म १-०-ले पछि रहेको थियो। एलेक्स इवोबीले २०औं मिनटमा गोल गरी फूलह्यामलाई बढ़त दिलाए। त्यसपछि टाइरिक जर्जले ८३औं मिनटमा गोल गरी स्कोर १-१-को बराबरीमा पुऱ्याए। अन्तमा पेड्रो नेटोले इञ्ज्युरी टाइमको तेस्रो मिनटमा गोल गरी चेल्सीलाई जीत दिलाए। यस जीतपछि चेल्सी ५७ पोइण्ट्सको साथ गोल अन्तरको आधारमा पाँचौं स्थानमा पुग्यो।