सहित्यकार एम पथिकलाई शब्द साधना सम्मान प्रदान
बिजनबारी: शब्द साधना मञ्च, पुलबजारको आयोजनामा एक विशेष विमोचन कार्यक्रम तथा मासिक कविगोष्ठी सम्पन्न भयो। दार्जीलिङको पुलबजारस्थित कार्यक्रममा साहित्यिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको पहिलो सत्र “सम्मान तथा लोकार्पण” अन्तर्गत सञ्चालन राजकुमार तिम्सिना (सचिव, शब्द साधना मञ्च) ले गरेका थिए। सभाध्यक्षको रूपमा भक्तकुमार सुब्बा (सभापति, शब्द साधना मञ्च) रहेका थिए। अतिथिका रूपमा एम पथिक, राधा छेत्री, सरन खालिङ,र वी घिमिरे उपस्थित रहेका थिए। प्रमुख सम्पादक डा महेश दाहाल , सम्पादकद्वय कर्ण विरह अनि प्रितम मैनाली थिए। दीप प्रज्ज्वलनपछि स्वागत मन्तव्य सन्जोक खवासले राखेका थिए। त्यसपछिका क्रमशः कार्यक्रममा प्रितम मैनालीद्वारा साहित्यकार एम पथिकको परिचय प्रस्तुत गरे। यस कार्यक्रममा एम पथिकलाई शब्द साधना सम्मान प्रदान गरियो। साहित्यकार एम पथिक अध्ययन ग्रन्थको लोकार्पण सम्पन्न गरियो भने समीक्षात्मक मन्तव्य युवराज छेत्रीले राखेका थिए।सम्पादकको मन्तव्य डा. महेश दाहालले पुस्तक प्रकाशन सम्बन्धित मन्तव्य राख्दै विभिन्न लेखकहरूले दिएका रचना र सहयोगका लागि आभार प्रकट गरे। समापन मन्तव्य भक्तकुमार सुब्बाले राख्दै ऐतिहासिक कार्य भएकाले हर्ष प्रकट गरे।
कार्यक्रमको दोस्रो सत्र “मासिक कविगोष्ठी” थियो, जसको उद्घाटन कर्ण विरहले गरेका थिए। सभाध्यक्षका रूपमा राममणि जोशी र पर्यवेक्षकका रूपमा सरन खालिङ रहेका थिए। गोष्ठीमा विविध कविहरूले आफ्ना सिर्जनात्मक रचनाहरू प्रस्तुत गरे। कार्यक्रम अन्त्यमा राजकुमार तिम्सिनाद्वारा धन्यवाद ज्ञापन गरियो। पर्यवेक्षकद्वारा चयनित कवयत्री मन्जरी थामीलाई यस गोष्ठीका उत्कृष्ट कविका रूपमा पुरस्कृत गरियो।