खरसाङ: तीनधारे महानदी समष्टिको घुम्ती चिया बगानमा स्थापित माता सिंहदेवी मन्दिरमा चैत्र नवरात्रि अनि राम नवमी पुजा अनुष्ठानको भव्य रुपमा सम्पन्न भएको छ। घुम्ती ग्राम सुधार पूजा समितिद्वारा आयोजित यो मन्दिरमा प्राचीन कालदेखि नै ढुंगाको चट्टानमा प्रकातिक ढंगमा अवस्थित माता सिंहदेवी, जल कन्या देवी, कालिका देवी, बुडेनी, नागनगिनी, सशस्त्र अनि संसारी देवी देवताको पूजा अर्चना घुम्ती ग्रामवासीद्वारा आयोजना गर्दै आइरहेको छन्। यो मन्दिरको निर्माणमा स्थानीय मानिसहरु जस्तै श्री सीएस तिवारी अनि घुम्ती भूतपूर्व सैनिकहरुको ठूलो योगदान छ जसले गर्दा आज मन्दिरको यो रुप देख्न सकिन्छ। वर्तमान घुम्ती ग्राम सुधार समितिमार्फत् पूजा कमिटी गठन गरि प्रत्येक वर्ष राम नवमीको पवन अवसरमा नवरात्री पूजा अनुष्ठान गरिन्छ। गाउँका बूढा पाखाहरु भन्नु हुन्छ यो मन्दिरमा दर्शन गरेर मनोकामना पूरा हुन्छ भन्ने विश्वास रहेको छ। यसै मन्दिरमा गत ३० मार्चदेखि नौ दिवसीय पूजा सम्पन्न भएको छ। उक्त पूजा कलश यात्रादेखि माताको दैनिक पूजा गरी कलरात्रीको दिन एक लाख दियो बत्ती बालेर शुरु गरिएको थियो। सप्तमीको दिन फूलपाती शोभा यात्रा अनि आज अन्तिम दिन बडी धुमधामको साथ पूजा अर्चना गरी होम गरिएको जानकारी प्राप्त भएको छ।

यस नौ दिवसीय पूजा विषयमा पत्रकारहरुसित कुराकानी गर्दै घुम्ती चियाबारीबाट श्यामकुमार खवास र सभापति मनिष प्रधानले घुम्ती चियाबारीको पुरानो मन्दिरमा प्रत्येक वर्ष पूजा आयोजना गर्ने गरेको र यसपाली पनि गत ३० मार्चखि नौ दिवसीय पूजा आयोजना गरेर आईतबार चैत नवरात्री तथा रामनवमीको अवसरमा समापन गरिएको बताएका छन्। दुवैले उक्त पूजा ग्राम सुधार सेवा समिति घुम्ती चियाबारीको आयोजनामा गरिएको छ। दुवैले यस पूजामा सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन्।