साहित्यकार निरङ्कर थापाको उपन्यास ‘मार्साङ’ को लोकार्पण

IMG-20250406-WA0232

खरसाङ: खरसाङका स्रष्टा निरङ्कर थापाको उपन्यास ‘मार्साङ’‌ आईतबार खरसाङमा‌ लोकार्पण गरिएको छ। गोर्खा जनपुस्तकालय खरसाङको आयोजनामा डा. पारसमणि प्रधान प्रेक्षागृहमा सम्पन्न उक्त लोकार्पण कार्यक्रमको अध्यक्षता गोर्खा जनपुस्तकालयको अध्यक्ष रबीनकुमार प्रधानको अध्यक्षता र वरिष्ठ साहित्यकार उदय थुलुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। सञ्जीव छेत्रीले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण पुस्तकालयको मूल सचिव विनोद रसाइलीले राखेका थिए। सभाध्यक्ष, प्रमुख अतिथि र विशिष्ट अतिथिहरुका बाहुलीबाट धुप दीप प्रज्ज्वलन गरी थालिएको कार्यक्रममा उपन्यासकार निरङ्कर थापाको परिचय गजलकार पी लक्की शेर्पाले राखेकी थिइन्। यही कार्यक्रममा खरसाङका स्रष्टा निरङ्कर थापाको पाँचौं कृति उपन्यास ‘मार्साङ’ सभाध्यक्ष रबीनकुमार प्रधान, प्रमुख अतिथि वरिष्ठ साहित्यकार उदय थुलुङ, विशिष्ट अतिथिहरु क्रमैले तिलक शर्मा, आशा मुखिया लामा, जीबी बल, डा रागिनी थापा, पीटी यल्मो, पूर्ण गुरुङ ‘निरुपम’, सभासद श्याम शेर्पा, उपन्यासकार निरङ्कर थापा र उनकी पत्नी एंव प्रकाशिका राधिका थापाको बाहुलीबाट लोकार्पण गरिएको छ। उक्त उपन्यास कृतिको लोकार्पणपछि आफ्नो सम्बोधनमा उपन्यासकार निरङ्कर थापाले सबैप्रति आभार प्रकट गरेका छन्। उक्त लोकार्पित पुस्तकमाथि नितेस राई, शोधार्थी कोमल केरूङ सुब्बा, डा कुशल गोले आदिले वार्ता प्रस्तुत गरेका थिए। यस क्रममा नितेस राईले भने, ‌मार्साङले भनेको कुरा लिला लेखन हो‌‌। लिला लेखन नबुझी अरु साहित्यिक आन्दोलन गर्नु ठीक नहोला। हामीले लिला लेखन नै बुझेका छैनौं।’ उनले अघि भने, मार्साङले पूर्वीय दर्शन कोट्याउने आग्रह गरेको छ। अध्ययन गरेपछि लेख्नु नै पर्छ भन्ने छैन तर लेख्नलाई अध्ययन गर्नैपर्छ भन्ने कुरा मार्साङमा छ।’


राईले लिला लेखनको सैध्दान्तिक पक्षलाई लिएर मार्साङको समीक्षात्मक टिप्पणी राखेका थिए‌‌। यसरी नै शोधार्थी कोमल केरूङ सुब्बाले निरङ्कर थापाको उपन्यास ‘मार्साङ’‌ मा फेन्टासी र काल्पनिक कुराहरु रहेको बताउँदै उपन्यासमा मनोरञ्जन, रोचाक तत्वहरू रहेको बताएकी छन्। उनले उपन्यासमा अन्तर पाठात्मकताको कुरा रहेको बताउँदै उपन्यास ‘मार्साङ’ माथि वार्ता राखेकी थिइन्। यसै क्रममा अर्का वार्ताकार मिरिक कलेजका प्राध्यापक डा कुशल गोलले उपन्यासमा शिक्षामा‌ आएको विकृति, शिक्षामा‌ व्यापार, शिक्षामा राजनीतिको कथा पाइन्छ भनी बताएका छन्। उनले शोधार्थीहरुका लागि यस मार्साङ उपन्यासमा लोक संस्कार र लोक संस्कृति साथै लोक विश्वासका कुराहरु प्रशस्त रहेको बताएका छन्। कार्यक्रममा प्रमुख अतिथिको रुपमा आफ्नो सम्बोधनमा वरिष्ठ साहित्यकार उदय थुलुङले मार्साङ उपन्यासमा बाल मनोदशा देखेको बताउँदै उपन्यासमा कौतुहलता रहेको बताएका छन्। उनले यस उपन्यासलाई फ्रायडीय दृष्टिकोणले पनि हेर्न सकिने बताएका छन्। उनले उपन्यासमा चेतन मनको कुरा पनि रहेको र उपन्यासकारले विसंगतिवादलाई पनि छोएको बताएका छन्। थुलुङले अघि भने, उपन्यासकारले पात्र पात्राहरुलाई भ्रमित रुपमा पनि राखेका छन्।‌ उपन्यासको अन्त्यमा उपन्यासकारले‌ पाठकीय प्रतिक्रियाको लागि ठाउँ छोडिदिएका‌ छन्। यसले गर्दा मार्साङले पाठकलाई तानेर राखेको छ।’


कार्यक्रममा सभाध्यक्ष रबीनकुमार प्रधानले आफ्नो वक्तव्यमा गोर्खा जनपुस्तकालय खरसाङको तर्फबाट सबैप्रति आभार प्रकट गरेका थिए। कार्यक्रममा उपन्यासकार निरङ्कर थापा र उनकी पत्नी एंव प्रकाशिका राधिका थापालाई पनि उपस्थित सबैद्वारा सम्मान जनाइएको छ।


कार्यक्रममा दार्जिलिङ, सिक्किम, सिलगढी, मिरिक, तीनधारे, सिटोङ, सोनादा, मङ्पु लगायत विभिन्न स्थानहरुबाट साहित्यकारहरु उपस्थित रहेका थिए। उपन्यासकार निरङ्कर थापाको यो पहिलो उपन्यास कृति हो भने आफ्नो यो पाँचौं साहित्यिक कृति हो। निरङ्कर थापाले पहिलेबाट नै चारवटा कथा सङ्ग्रहहरु प्रकाशित गरिसकेका छन्‌‌। उनको कथा सङ्ग्रहहरुमा ‘पछि फर्केर हेर्दा'(२०१३), ‘झरेको फूल’ (२०१५), मोह रङ’ र ‘एक छिमल जीवन’ (२०१८) आदि हुन्। कार्यक्रममा वार्ताकारहरुलाई गोर्खा जनपुस्तकालय खरसाङको तर्फबाट स्मृति चिन्ह प्रदान गरिएको छ। यसै कार्यक्रममा २८ नम्बर समष्टिमा‌ आयोजित जीटीए आईडलको अडिशनको तर्फबाट उपन्यासकार निरङ्कर थापालाई सम्मान जनाइएको छ। उक्त उपन्यास ‘मार्साङ’ लोकार्पण विषयमा पत्रकारहरुसित कुराकानी गर्दै उपन्यासकार निरङ्कर थापाले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement