काेलकत्ता: भाकपा(भारतीय कम्युनिस्ट पार्टी) (मार्क्सवादी) को भारतको तामिल्नाडुस्थित मादुराईमा सम्पन्न २४औँ महाधिवेशनले एमए बेबी महासचिवमा चयन गरेको छ।
सीताराम येचुरीको निधनपछि भाकपा (मार्क्सवादी) को महासचिव पद खाली थियो। नयाँ जिम्मेवारीसँगै येचुरीले हाँकिरहेको पार्टी अब केरला सरकारका पूर्वमन्त्री समेत रहेका एमए बेबीले सम्हाल्ने छन्।
को हुन् एमए बेबी?
७० वर्षीय एमए बेबी (मरियम एलेक्जेन्डर बेबी) ले भाकपा (मार्क्सवादी) को विद्यार्थी संगठन स्टुडेन्ट्स फेडरेशन अफ इन्डिया (एसएफआई) बाट सक्रिय राजनीति सुरु गरेका थिए। त्यसपछि उनी पार्टीको युवा संगठन डेमोक्रेटिक युथ फेडरेशन अफ इन्डिया (डीवाईएफआई) सँग आबद्ध भए।
सन् १९८६ देखि १९९८ सम्म उनी राज्यसभाका सांसद रूपमा भाकपा (मार्क्सवादी)बाट प्रतिनिधित्व गरे। महासचिव बन्ने दौडमा बेबीसँगै अखिल भारतीय किसान सभाका अध्यक्ष अशोक धवले र पश्चिम बंगालका वरिष्ठ नेता मोहमद सलीमको नाम पनि चर्चामा थियो।
गत वर्ष सेप्टेम्बरमा सीताराम येचुरीको निधनपछि पार्टीको महासचिवको पद रिक्त थियो। हालसम्म प्रकाश करातले कार्यबाहक महासचिवको रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए।
केरलाबाट दोस्रो महासचिव
मिडिया रिपोर्ट अनुसार, भाकपा (मार्क्सवादी)को महासचिव बन्ने बेबी केरलाबाट दोस्रो नेता हुन्। यसअघि ईएम नम्बूदरीपादले पनि पार्टी नेतृत्व सम्हालिसकेका थिए।
सन् १९९२ मा नम्बूदरीपादले पदबाट राजीनामा पछि हालसम्म केरलबाट कुनै नेता महासचिव बनेका थिएनन्। त्यसैले यसपटक बेबीको नाम प्राथमिकतामा परेको बताइएको छ।
पोलिटब्यूरोका १६ सदस्यहरूमध्ये ११ जनाले बेबीको पक्षमा समर्थन जनाएका थिए। उनी केरला राज्यको कोल्लम जिल्लास्थित प्रक्कुलम क्षेत्रका स्थायी बासिन्दा हुन्।
बेबीको केरलका मुख्यमन्त्री पिनाराई विजयनसँगको सम्बन्ध खासै सुमधुर छैन भन्ने चर्चा थियो। पार्टी विधान अनुसार ७५ वर्ष नपुगेका सदस्यहरूले मात्र नेतृत्वमा आउन सक्छन्। यही प्रावधानले उनलाई महासचिवको जिम्मेवारीमा सहजै पुर्याएको भाकपा (मार्क्सवादी) का नेताहरूले बताएका छन्।
हालका कार्यवाहक महासचिव प्रकाश करात, उनकी पत्नी वृन्दा करात, त्रिपुराका पूर्व मुख्यमन्त्री माणिक सरकार, सुभाषिनी अली, सूर्यकान्त मिश्र र जी. रामकृष्णन जस्ता नेताहरूले पनि ७५ वर्ष उमेर पार गरिसकेकाले उनीहरूको पार्टी नेतृत्वमा आउने बाटो बन्द भएको हो।
बंगालमा पार्टी लामो समय सत्तामा रहे पनि ममता बनर्जी र भारतीय जनता पार्टीको उदयसँगै पार्टीको हैसियत कमजोर बनेको छ।
यस्तो अवस्थामा बेबीको काँधमा पार्टीलाई राष्ट्रिय शक्तिको रूपमा पुनरोदय गराउने चुनौती छ।