गान्तोक। एसकेएम (सिक्किम क्रान्तिकारी मोर्चा) पार्टीको सरकारले विगत तीन वर्षको अवधिमा सिक्किमेली जनतालाई धोका दिने, ठग्ने, दुःख दिने, अत्याचार गर्ने, डर देखाउने, तर्साउने र जनताको हक, अधिकार, अस्मिता, सम्मान र गौरवलाई बन्दगी राखेर कुर्सी जोगाउने काम मात्र गरिरहेको आरोप विपक्षी एसडीएफ पार्टीले लगाएको छ।
एसकेएम सरकारबाट भएका जनविरोधी र सिक्किमविरोधी कामबाट सिक्किमेली जनता वाक्क भएर एसकेएम पार्टीलाई मरेको लासलाई जुम्राले छोडेजस्तै छोड्दै जान थालेको एसडीएफले आज जारी प्रेस विज्ञप्तिमा बताएको छ। विज्ञप्तिमा भनिएको छ, सत्तारूढ पार्टी हतास र निराश भएर अतालिएको छ। नैतिकता र दायित्व गुमाएको छ। आफ्ना जनविरोधी कार्यक्रमद्वारा सिक्किमलाई लथालिङ्ग र भताभुङ्ग बनाउँदैछ। आर्थिक अनियमितताले अर्थतन्त्रको मेरूदण्ड नै भाँची दिएको छ। विधिको शासन समाप्त भएकोले राज्यमा चरम अराजकताको माहौल सिर्जना भएको छ। सिक्किम र सिक्किमेली जनताले प्राप्त गरेको गौरव चरम चाप्लुसी र लम्पसारवादले समाप्त प्रायः पारिदिएको छ।
राज्यका मुख्यमन्त्री राज्यमा भन्दा राज्यबाहिर गएर समय र धन नष्ट गरिरहेको आरोप पनि एसडीएफले लगाएको छ। उद्योग धन्धा, कलकारखाना, सिक्किमको भूसम्पत्ति, व्यापार-वाणिज्य आदि सबै बाहिरका पुँजीपतिहरूका कब्जामा गइरहेको पनि एसडीएफले दाबी गरेको छ।
‘कमिसनखोरी र भष्ट्राचार बढेर संस्थागत भएको छ। विकासका नवनिर्माणका काम ठप्प छन्। महँगाई चरममा पुगेको छ। बजार व्यवस्था नियन्त्रण गर्ने कुनै विधि छैन। विद्यालय, शिक्षक, मजदूर, किसान र सर्वसाधारणलाई सुरक्षा, सुव्यवस्था, सहुलियत र उद्धारका कुनै योजना आजसम्म सञ्चालित भएका छैनन्, एसडीएफले विज्ञप्तिमा भनेको छ। राज्य सरकारले दिल्लीमा राज्य दिवस मनाएर सरकारी ढिकुटी रित्तो पार्न जुटेको पनि आरोप लगाइएको छ।