गान्तोक: यो वर्ष नवरात्र पर्व तादोङ दुर्गा मन्दिर परिवारले धूमधामले पालन गर्ने निर्णय लिएको छ। यसै विषयलाई ध्यानमा राखेर शुक्रवार मन्दिर परिसरमा समितिका अध्यक्ष एसके गुरुङको अध्यक्षतामा बैठक आयोजन गरियो। बैठकमा मन्दिर समितिका लगभग सबै पदाधिकारीहरूको उपस्थिति रहेको थियो। बैठकमा आगामी नवरात्र पर्वमा मूर्ति स्थापनापछि पूजा शुरु गरिने निर्णय लिइएको छ। नवरात्र पूजा २६ सेप्टेम्बरबाट शुरु भएर ४ अक्टोबरसम्म जारी रहनेछ। यसपाली पनि नवरात्र पूजा छः जना गुरुजीको समूहले गर्नेछ। यसको जिम्मेवारी मन्दिरका पण्डित नन्दलाल भट्टराईलाई सुम्पिइएको छ। २ अक्टोबरको प्रातः सात बजी मन्दिर परिसरबाट भव्य शोभायात्रा निकालिनेछ।
शोभायात्राका लागि स्वर्गीय ओमाकान्त शर्मा स्मृति प्रतियोगितात्मक पुरस्कार राखिएको छ। यो शोभायात्रामा पर-परका सामाजिक संस्थानहरूको पनि सहभागिता रहने आजको बैठकमा निर्णय लिइएको छ। यसपालीको नवरात्र पर्वमा भण्डारा केवल दुई दिन अर्थात सप्तमी र नवमी तिथिमा गराइनेछ। बैठकमा पूजाका लागि चन्दा सङ्कलन गर्ने निर्णय लिँदै चन्दा पुस्तिका वितरण गरियो। पूजा र शोभायात्राका लागि खुसेन तिम्सिनालाई पुलिस र वाद्ययन्त्रको अनुमति लिने जिम्मेवारी सुम्पिइएको छ। मन्दिरको सुन्दरीकरणका लागि आरती गुरुमाले आफ्नो पक्षबाट केही योगदान दिने वचन दिएकी छन्। मन्दिर अगाड़ि रहेका कुशहरू सफा गर्ने आजको बैठकमा निर्णय लिइयो। फूलपाती शोभायात्रामा मालसिरी गाउँदै यात्रा गरिनेछ भने वाद्यवादन एउटा गाड़ीमा राखिनेछ। शोभायात्रामा त्रिमूर्ति दुर्गाको झाँकी लिएर मङ्गलयात्रा गरिने बैठकले निर्णय लिएको छ। शोभायात्रामा सपरिवारसहित इष्टमित्रलाई सहभागी बन्न आयोजक समितिले अनुरोध गरेको छ।