चार भाषासाहित्यसेवी पुरस्कृत
काठमाडौं: राजनीतिले तोड्छ साहित्यले जोड्छ भन्नेकुरो फेरि एकपल्ट सत्यापित भएको छ। राजनीतिक कुचक्र र ज्यादतीले आफ्नो मुलुकबाट नेपालहुँदै विवशतापूर्वक विश्वभर छरिन पुगेका अनि नेपालमै रहेबसेका भुटानी नेपालीहरू भाषा र साहित्यको सेतु हालेर जोडिँदैछन्। अरूलाई पनि जोड्दैछन्। विस्तृत नेपाली साहित्यफाँटमा आफ्नो उपस्थिति बलियो गरी देखाउँदैछन्। यसै सिलसिलाअन्तर्गत साहित्य परिषद भुटानले उल्लेखनीय कार्य र कृतिद्वारा मूलप्रवाहका साहित्यकारहरूको समेत ध्यानाकर्षित गरेको छ। भाषा-साहित्यको दायरा बढेर वैश्विकरण भइसकेको अवस्थाबीच निर्वाचनको पिडा भोगेर दुनियाँभर फैलिसकेका अनि त्यहीँका रैथाने भएर साहित्यिक गतिविधि गरिरहेको वैश्विक भुटानी नेपाली संस्था हो साहित्य परिषद भुटान।

यसै’साहित्य परिषद भुटान’ले आज एकैसाथ प्रज्ञाप्रतिष्ठान काठमाडौंमा नौवटा कृतिको लोकार्पण गर्नका साथै पुरस्कार अलङ्करण कार्यक्रम पनि सम्पन्न गर्यो। विश्वभर फैलिएका भुटानी नेपाली साहित्यस्रष्टाहरूको सृजनामार्फत धेरै थोक जान्नपाउने जिज्ञासाले कार्यक्रममा जमघट बाक्लो थियो। आज काठमाडौंको कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा साहित्यसमारोह आयोजित भयो। २०२२ को सेप्टेम्बर ८ का दिन काठमाडौको कमलादीस्थित प्रज्ञाप्रतिष्ठानको कक्षमा, प्रतिष्ठानकै कुलपति गंगाप्रसाद उप्रेतीज्यूको मुख्य-आतिथ्यमा सम्पन्न समारोहबीच नेपाली भाषिकसंरक्षणको विश्वव्यापी अभियान र सामाजिक अस्तित्वरक्षाको सरोकारमा कुनै न कुनै रूपले महत्वपूर्ण योगदान पुऱ्याएबापत- श्रीमती दिलकुमारी भण्डारी, प्राडा गोविन्दराज भट्टराई, डा. रामजी तिमिल्सिना र प्रकाश ओङदम्बेलाई सम्मानस्वरूप क्रमैले परिषद भाषासेवा पुरस्कार, परिषद साहित्यसेवा पुरस्कार, परिषद साहित्यअनुसन्धान पुरस्कार र परिषद युवा प्रोत्साहन पुरस्कार अर्पण गरियो। नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनाथ कक्षमा आयोजित यस समारोहमा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती प्रमुख अतिथि रहेका थिए भनेअन्य अतिथिहरूमा प्रतिष्ठानका सदस्यसचिव प्रा. जगतप्रसाद उपाध्याय, प्राज्ञ प्राडा हेमनाथ पौडेल, प्राज्ञ डा. देवी नेपाल, ज्ञानबहादुर छेत्री(असम), अर्जुन पीयूष( सिक्किम) डुवर्सबाट अजय खड्का आदि प्रमुख थिए। अमेरिकामा रहिबसी साहित्यसेवा गरिरहेका युवासर्जक साहित्य परिषद भुटानका सचिव खेम रिजालको अध्यक्षतामा आयोजित यस कार्यक्रमलाई नर्वेबाट आएका परिषदका स्तम्भ एवं स्रष्टा रमेश गौतमले परिचालन गरेका थिए। कार्यक्रमबीच प्राडा जगतप्रसाद उपाध्याय, डा. गीता त्रिपाठी आदि वक्ताहरूले भुटानी मूलका साहित्यिकहरूले अस्तित्वहीन बन्दो अवस्थालाई चिरेर नेपाली डायस्पोरालाई समृद्ध बनाएको भन्दै बधाई दिए।

अवगत गराइन्छ, यो कार्यक्रममा भुटानीमूलका नेपाली सर्जकरूको पहललाई ऐक्यबद्धता जनाउँदै सही थप्न उल्लेखनीय संख्यामा प्राज्ञ र साहित्यानुरागीहरू जुटेका थिए। आज लोकार्पित भएका पुस्तकहरूमा-शिव दाहाल,रमेश गौतम र भक्त घिमिरेद्वारा सम्पादित नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा प्रकाशित ‘पुनर्वासपछिका भुटानी नेपाली कविता,यतिराज अजनबी रचित’ केही यक्ष प्रश्नहरू’, गंगा लामिटारेकृत कथासङ्ग्रह ‘बद्लिएको कर्तव्य’, शिवलाल दाहालरचित कवितासङ्ग्रह ‘जो स्मृतिमा मात्र बाँचिदिएका छन्’, डा. लक्ष्मीनारायण ढकाललिखित ‘डायस्पोरामा भाषाशिक्षण’, माया भट्टराईरचित ‘आमाको काख’, रमेश भट्टराईकृत ‘ चिताको आगो साँच्चै तातो हुँदोरहेछ’,डिल्लीराम तिम्सिनालिखित उपन्यास ‘उच्छेदन’, खेम रिजालको गीतिसङ्ग्रह’ उर्जा’ आदि प्रमुख थिए। कार्यक्रमअवधि तिलक राई,दिल भुटानी,विरेन मगर आदिले नब्बेको त्रासदीलाई बल्झाउने प्रभावशाली कविता वाचन गरेका थिए।