गान्तोक: गेजिङ जिल्लाको सामाजिक कल्याण विभागको पहलमा आज लिङचोम-तिक्जेक ग्राम पञ्यायत यूनिटको ग्राम प्रशासन केन्द्रमा अनुसूचित जाति र जनजाति हिंसा रोकथाम ऐन, १९८९ माथि एक जागरूकता कार्यक्रम आयोजना गरियो। कार्यक्रममा विशेष गरेर अनुसूचित जाति र जनजातिले भोग्न परिरहरेको शोषण र हिंसाबारे छलफल गरियो। यस अवसरमा लिङचोम तिक्जेकका पञ्चायत अध्यक्ष राजेन लिम्बू मुख्य अतिथिकोरूपमा उपस्थित थिए। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्य अतिथि लिम्बूले समुदायको उत्थानमा यस प्रकारको जागरूकता कार्यक्रमको महत्त्वमाथि प्रकाश पारे। उनले यस ऐनको प्रावधानबारेमा जानकारी लिन आवश्यक रहेको बताए। अनुसूचित जाति र जनजाति समुदायको अधिकार सुरक्षित छ भन्ने कुरा सुनिश्चित गर्न पञ्चायत मार्फत जागरूकता ल्याउन यस्ता कार्यक्रमहरू आयोजना गरेको उनले बताए। उनले यस विषयमा सम्वन्धित विभागलाई निर्धारित समयभित्र अनुसूचित जाति र जनजाति छात्रवृत्ति योजनाबारे सचेत गराउनु पर्ने अपील गरे। यदि सम्वन्धित विभागले यस विषयमा समयमा नै सचेत गराउन सकेमा विद्यार्थीहरूले लाभ उठाउन सक्ने बताए। कार्यक्रममा सामाजिक कल्याण विभागका उपनिर्देशक रामकुमार तामाङले हिंसा नियन्त्रण ऐन १९८९ लाई प्रसारित गर्नुपर्ने विषयमा जोड दिँदै यसबारे सचेतना अभियान गर्नुपर्ने कुरामा जोड़ दिए।