खरसाङ: सूचना अनि सांस्कृतिक विभाग खरसाङमा संगीत प्रभारीको रुपमा कार्यरत् मोहनकुमार प्रधानको एक कार्यक्रमबीच बिदाई समारोह सम्पन्न भएको छ। खरसाङको गिध्द पहाडस्थित जीटीएको सचिवालयमा सम्पन्न उक्त बिदाई समारोहमा स्वागत सम्भाषण खरसाङको प्रभारी गोबिन छेत्रीले राखेका थिए भने सञ्चालन सबिना गिरीले गरेकी थिइन्। विगत दुई दशकभन्दा लामो समयदेखि सूचना अनि सांस्कृतिक विभागमा संगीत प्रभारीको रुपमा कार्यरत् मोहनकुमार प्रधानलाई बिदाई समारोहमा दोसल्ला ओडाएर टोपी पहिराएर साथै सम्मान पत्र र स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइएको छ।यस अवसरमा उनलाई सम्बन्धित विभागका सदस्य सदस्याहरुले उपहार पनि प्रदान गरेका थिए। यस अवसरमा विभागीय कलाकारहरुले समूह गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको सूचना अनि सांस्कृतिक विभागको सह निर्देशकद्वय भानुकान्त घिसिङ र बिमल राईले सम्भाषण राखेका थिए। कार्यक्रममा आफ्नो सम्बोधनमा बिदाई कर्मचारी मोहनकुमार प्रधानले सम्पूर्णलाई धन्यवाद दिएका छन्। उनले भविष्यमा आवश्यक परेमा आफु कार्यालयमा आएर सहयोग गर्ने वचन दिएका छन्। उल्लेखनीय छ मोहनकुमार प्रधान सूचना अनि सांस्कृतिक विभागमा दुई दशकभन्दा लामो समयदेखि कार्य गर्दै गत १ फरवरी २०२५ मा अवकाशप्राप्त भएका छन्।