च्याम्पियन्स ट्रफी जित्ने भारतीय टीमको निम्ति ५८ करोड़ रुपियाँको पुरस्कार राशि घोषणा गऱ्यो बीसीसीआई-ले

IMG-20250320-WA0135

नयाँ दिल्ली: भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले आईसीसी च्याम्पियन्स ट्रफी २०२५-मा खिताब जितेपछि रोहित शर्माको कप्तानीमा रहने भारतीय टीमको निम्ति ५८ करोड़ रुपियाँको नगद पुरस्कारको घोषणा गऱ्यो। बीसीसीआई सचिव देवजीत सैकियाले पुरस्कार राशि खेलाड़ीहरू र सहयोगी स्टाफहरूबीच कसरी बाँड़िनेछ भन्ने बताए। आईसीसी च्याम्पियन्स ट्रफी २०२५-मा भारतीय टीम अजेय रहेर च्याम्पियन बनेको थियो। भारतले टुर्नामेण्टमा बंग्लादेशविरुद्ध ६ विकेटले जीतको साथ अभियान शुरु गरेको थियो। त्यसपछि ग्रुप चरणमा पाकिस्तानविरुद्ध ६ विकेटले अनि न्यूजील्याण्डविरुद्ध ४४ रनले जीत हासिल गरेको थियो। भारतले पछिबाट सेमिफाइनलमा अष्ट्रेलियालाई ४ विकेटले अनि फाइनलमा न्यूजील्याण्डलाई पनि ४ विकेटले पराजित गरेको थियो। बीसीसीआई सचिव देवजीत सैकियाले बताएअनुसार, १५ जना खेलाड़ी र मुख्य प्रशिक्षक गौतम गम्भीरलाई ३-३ करोड़ रुपियाँ गरेर प्रदान गरिनेछ। पुरस्कार राशि पाउने खेलाड़ीहरूमा अर्शदीप सिंह, रिषभ पन्त र वाशिंगटन सुन्दर पनि सामेल छन्, जसले च्याम्पियन्स ट्रफीमा एउटा म्याच खेल्ने मौका पनि पाएनन्।
सैकियाले भने, च्याम्पियन्स ट्रफी २०२५ जित्ने १५ सदस्यीय भारतीय टीमका प्रत्येक खेलाड़ीले ३ करोड़ रुपियाँ पाउनेछन्। मुख्य प्रशिक्षक गम्भीरलाई पनि ३ करोड़ रुपियाँ प्राप्त हुनेछ। यसबाहेक कोचिंग ग्रुपमा ब्याटिंग प्रशिक्षक सीतांशु कोटक, सहायक प्रशिक्षक अभिषेक नायर र रेयान टेन डोशेट, फील्डिंग प्रशिक्षक टी दिलीप, फीजियोथेरेपिस्ट कमलेश जैन र योगेश परमार, टीम डाक्टर आदित्य दफ्तरी, थ्रोडाउन विशेषज्ञ राघवेन्द्र दवगी, नुवान उदनेके र अरुण कनाडेको साथमा स्ट्रेन्थ एण्ड कण्डीशनिंग प्रशिक्षक सोहम देसाई जस्ता सहयोगी स्टाफहरूलाई पनि ५०-५० लाख रुपियाँ गरेर प्राप्त हुनेछ। यसको साथमा टुर्नामेण्टको अवधि भारतीय टीमसँग सम्बन्धित बीसीसीआईका अन्य अधिकारीहरू भीडियो विश्लेषक हरि प्रसाद मोहन, सम्पर्क अधिकारी र मीडिया म्यानेजरलाई पनि पुरस्कृत गरिनेछ। उनीहरू प्रत्येकलाई २५-२५ लाख रुपियाँ गरेर प्राप्त हुनेछ। यतिमात्र नभएर मुख्य चयनकर्ता अजीत अगरकरलाई पनि ३० लाख रुपियाँ प्राप्त हुनेछ। चयन समितिका अन्य सदस्यहरू-सुब्रतो ब्यानर्जी, अजय रात्रा, एस शरथ र शिव सुन्दर दासलाई २५-२५ लाख रुपियाँ गरेर प्राप्त हुनेछ।
यसको साथमा सैकियाले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)-द्वारा च्याम्पियन भारतीय टीमलाई दिइएको पुरस्कार राशि (लगभग १९.४५ करोड़ रुपियाँ) केवल खेलाड़ीहरूलाई दिइएको बताए। यसमा टीमका प्रत्येक सदस्यलाई १ करोड़ ४३ लाख रुपियाँ गरेर प्राप्त भयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement