नाम्ची: जारी पाङ ल्हाबसोल पर्वको आज १०औं दिन नाम्ची जिल्लाअन्तर्गत राभाङलाको माणिछोकारलिङ गुम्पा परिसरको एमपी थिएटरमा विविध कार्यक्रमहरू सम्पन्न गरियो। यस अवसरमा सिक्किम विधानसभा अध्यक्ष अरूण उप्रेती मुख्य रुपले अतिथि थिए।
कार्यक्रममा सम्बोधन गर्दै मुख्य अतिथि उप्रेतीले यस प्रकारको कार्यक्रमको आयोजनाले सिक्किमको परम्परा र संस्कृतिको संरक्षण अनि विकास हुने बताए। उनले सांस्कृतिक पर्वहरूको विकासका लागि राजनीतिक मदभेद राख्नु हुँदैन भन्ने मुख्यमन्त्री पीएस गोलेको भनाइ रहेको उल्लेख गरे।
कार्यक्रमको मुख्य आकर्षणको रूपमा रहेको अन्तर सिक्किम भलिबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा दरामदिनले बेन भीसीलाई पराजित गरेर फाइनलमा प्रवेश गऱ्यो। यस प्रतियोगिताको फाइनल खेल शुक्रवार दरामदिन र तार्कूमाँझ सम्पन्न हुनेछ। त्यसरी नै खुल्ला भलिबल प्रतियोगिता अन्तर्गत आज प्रथम खेलमा बीजेएसएसले रङ्गेली पीएसलाई पराजित गऱ्यो भने दोस्रो खेलमा बर्फुङ रेडले अल स्टारलाई पराजित गऱ्यो।
कार्यक्रममा मुख्य अतिथिले स्वयं सहायता समुहले विभिन्न समानहरू बिक्री अनि प्रदर्शनीका लागि राखेका स्टलहरूको पनि भ्रमण गरेका थिए। कार्यक्रममा आयोजक समितिले सहयोग पुऱ्याएकोमा विद्भूत विभाग, बागवानी विभाग र सडक एवं पुल विभागलाई प्रशंसा पत्र प्रदान गरेको थियो।
कार्यक्रममा अन्तर समष्टि लठ्ठा तान्ने प्रतियोगिता पनि समावेश गरिएको थियो। कार्यक्रममा साँस्कृतिक गीत-नृत्य आदि सम्पन्न गरियो। कार्यक्रममा विधायक टीटी भोटिया, भवन एवं आवास विभागका अध्यक्ष टाँसीदोर्जे तामाङ, पूर्व विधायक सोनाम ग्याछो भोटिया आदिको पनि विशेष उपस्थिति रहेको थियो।