गान्तोक: देउरालीस्थित पञ्चायत स्रोत केन्द्रमा आज धार्मिक संस्थानहरूलाई लिएर राज्यको शहरी विकास विभागको पहलमा एक दिवसीय फोहोर व्यवस्थापन कार्यशाला सम्पन्न भयो। उक्त कार्यक्रममा राज्यका शहरी विकास विभागीय मन्त्री भोजराज राई मुख्य अतिथिकारूपमा उपस्थित रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले स्वच्छ भारत अभियान पहलमाथि जोड दिँदै यसको कार्यान्वयनको निम्ति सामुहिक सहभागिता हुनुपर्ने विषयमाथि जोड दिए। उनले धार्मिक गुरुहरूलाई सरकारको फोहोर प्रबन्धन पहललाई सहयोग गर्न सक्रिय भूमिका निर्वाह गर्ने आग्रह गर्दै यस पहलमा स्वयं सहायता समूह र गैरसरकारी संस्थाहरूलाई संलग्न गराउने महत्त्वमाथि प्रकाश पारे। फोहोर छुट्याउने काम घरबाटै शुरु हुनुपर्ने कुरामा जोड दिँदै विश्वव्यापी जलवायु परिवर्तनको प्रभावमाथि पनि उल्लेख गरे। यस क्रममा शहरी विकास, खाद्य तथा नागरिक आपूर्ति विभागका सल्लाहकार दिले नामग्याल बर्फुङ्गपाले आफ्नो सम्बोधनमा सरसफाइ कार्यक्रमअन्तर्गत सुनौलो समृद्धि र सामर्थ्य सिक्किममा योगदान पुऱ्याउनु पर्ने सबैलाई प्रोत्साहित गरे। उनले स्वास्थ्यलाई प्राथमिकता दिने महत्त्वमा जोड दिँदै सरसफाइ कायम राख्नाले स्वस्थ जीवनशैली अप्नाउन सकिने बताए। उनले फोहोर व्यवस्थापन अभ्यासहरू सुधार गर्न राज्य सरकारको पहलहरू कार्यान्वयन गर्न सामुहिक जिम्मेवारी लिनुपर्ने विषयमा अवगत गराए। यसक्रममा गान्तोक नगर निगमका मेयर निलबहादुर छेत्रीले आफ्नो सम्बोधनमा फोहोर व्यवस्थापनमाथि ध्यान केन्द्रित गराउँदै धार्मिकस्थलहरूमा हुने गरेको फोहोर व्यवस्थापनमा सहयोग गर्ने आग्रह गरे। यसबीच जीएमसीका उपमेयर छिरिङ पाल्देन भोटियाले आफ्नो सम्बोधनमा स्वच्छ भारत अभियानअन्तर्गतका पहलहरूमाथि प्रकाश पार्दै व्यवहार परिवर्तनको आवश्यकतामा जोड दिइन्। फोहोर व्यवस्थापनमाथि जागरूकता गराउन धार्मिक गुरुहरुको महत्त्वपूर्ण भूमिकामाथि जोड दिँदै एकल-प्रयोग प्लास्टिक फोहोर घटाउने विभिन्न योजनाबारे जानकारी गराइन्। यसरी नै राज्य मिशन सचिव जिग्मी वाङचुक भोटियाले फोहोर व्यवस्थापन अभ्यासहरू बढाउन भइरहेको प्रयासहरूमाथि प्रकाश पार्दै नागरिकहरूलाई फोहोर व्यवस्थापनको निम्ति सबैको सहभागिता जरुरी बन्ने उल्लेख गरे।