पाकिम जिल्लामा त्रैमासिक सभा सम्पन्न

गान्तोक: पाकिम जिल्ला सामाजिक कल्याण विभागको त्रैमासिक सभा आज पाकिम जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा बस्यो। अतिरिक्त जिल्लापाल साङगे ग्याछो भोटियाको अध्यक्षतामा सम्पन्न भएको बैठकको उद्देश्य राज्यमा रहेका ट्रान्सजेन्डरहरूको अधिकार संरक्षण ऐन २०१९ माथि छलफल गर्नु थियो। यसअन्तर्गत विभिन्न स्वास्थ्य सेवाहरू उपलव्ध गर्दै उनीहरुको कल्याण र अधिकारलाई सुनिश्चित र सशक्त गर्नु रहेको थियो। सभालाई सम्बोधन गर्दै अतिरिक्त जिल्लापाल भोटियाले पाकिम जिल्लाभित्र रहेका ट्रान्सडेन्डर व्यक्तिहरूको पहिचान गर्दै यसबारेमा सचेत गराउनुपर्ने आवश्यकतालाई जोड दिए। उनले समावेशीता र सम्मानलाई प्रवर्द्धन गर्दै यस्ता समुदायको उत्थानका लागि सहयोगको आश्वासन दिए। सोही प्रकारले सामाजिक कल्याण विभागकी अधिकारी सुनिता दाहालले ऐनको कार्यक्षमता र समिति सदस्यको जिम्मेवारीबारेमा जानकारी गराउँदै अघिल्लो सभामा लिएको एजेन्डाहरूबारे प्रकाश पारे। यसभन्दा अघिको सभामा राज्यका सबै अस्पतालहरूमा वार्ड स्थापना गर्ने र पुलिस चौकीहरूमा ट्रान्सजेन्डर सेलहरू मार्फत सुरक्षा सुदृढ गर्ने लगायत विभिन्न प्रस्ताव पारित गरिएको थियो। यसबीच अनुसूचित जाति र अनुसूचित जनजाति विरुद्धको कुनै पनि हिंसाको घटना देखा परेमा गम्भीरताका साथ कार्यवाही गर्ने जानकारी गराइन्। समितिले फोहोर व्यवस्थापनमाथि छलफल गर्दै यसका लागि फोहोर व्यवस्थापन उपकरण तयार पार्नुपर्ने कुरामा जोड़ दिइन्। उक्त सभामा अतिरिक्त जिल्लापाल रबिन सेवा, जिल्ला चिकित्सा अधिकारी डा. मदनमणि ढकाललगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement