खरसाङ: काेलकत्ता हाम्रो छहारी आश्रमको सभाघरमा एक साहित्यिक कार्यक्रमको आयोजना गरियो जसको सभापतित्व वरिष्ठ समाजसेवी तथा साहित्यकार नारायणप्रसाद हुँमागाईले गरेका थिए। कार्यक्रमको शुरूवातमा भर्खरै दिवाङ्गत भएका पद्मभूणन लीलबहादुर क्षेत्रीको आत्म शान्तिको निम्ति एक मिनटको मौनधारण गरियो। भारत-नेपाल जनमैत्री साँस्कृतिक मञ्च तथा भारतीय भाषा परिषद्को संयुक्त आयोजनामा गरिने एक साहित्यिक कार्यक्रममा अंश ग्रहण गर्न आएका दार्जीलिङ, सिक्किम, डुवर्स तथा नेपालका साहित्यिक व्यक्तित्वहरूसित काेलकत्ताका साहित्यकारहरूमाझको एक साहित्यिक भेटघाटमा वर्तमान साहित्य कस्तो लेखिन पर्ने, बाल साहित्य, पुरस्कार, दाइजो प्रथा, नेपाल तथा भारतको वर्तमान साहित्यिक गतिविधि आदि विषयमा गम्भीर चर्चा हुनको साथ -साथै कवि गोष्ठीसमेत सम्पन्न भयो। कार्यक्रमको शुरूवातमा कलकत्ता हाम्रो छहारीका सभापति गुन्जदास श्रेष्ठले कलकत्तामा छहारी आश्रमको स्थापनाबारे संक्षिप्तमा प्रकाश पारेका थिए। छहारीको तर्फबाट सभापति संगीता शेर्पाले अतिथिवर्गलाई क्रमैले खादार्पण गरेर स्वागत सम्बोधन पनि राखेका थिए। मुम्बई छहारीका संस्थापक सदस्य साहित्यकार विन्द्या सुब्बाले छहारीको औचित्य र उद्देश्यबारे धेरै लामो सम्बोधन राख्दै कलकत्तामा छहारीको स्थापनामा पनि महत्वपूर्ण सहयोग गर्ने वचन दिए। साहित्यमा नारी स्रष्टाहरूको योगदानबारे बोल्दै उनले पहिलाको तुलनामा अहिले धेरै नारी स्रष्टाहरूले जग बसालेको तथ्य प्रस्तुत गरे। नेपालबाट आएका कवि तथा सञ्चारकर्मी नवराज लम्सालले साहित्य लेखनमा दृष्टिकोण र भाव हुन जरूरी छ। नयाँ लेखकहरूले ध्यान राख्नु पर्ने महत्वपूर्ण विषयहरूमाथि महत्वपूर्ण बुँदाहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा प्राध्यापक डा देवी प्रसाद नेपाल, डा धन प्रसाद सुबेदी, अजय खड्का, लुइस विष्ट, सञ्जीव गुरुङ, निमा निष्कर्ष, विन्द्या सुब्बा आदिले कविता एवं गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा कलकत्ता छहारीका सह सचिव सन्तोष चन्द्र दर्नाल, सोनाम शेर्पा, रजनी गुरूङ, सचिन राई, खिमराज बराल आदि उपस्थित थिए। कार्यक्रमको सञ्चालन निमा मोक्तान ‘निष्कर्ष’ले गरेका थिए।