नारी शक्ति तीनधारे महानदी समष्टि कमिटीमा‌ नयाँ पदाधिकारीहरु नियुक्त

photocollage_2025316195252440

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठनको नारी शक्ति तीनधारे महानदी समष्टिको कमिटीमा नयाँ पदाधिकारीहरु नियुक्त गरिएको छ। यसै विषयलाई लिएर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा र नारी शक्ति तीनधारे महानदी समष्टिको सांगठनिक सभा घैयाबारीस्थित समष्टिकाे पार्टी कार्यालयमा सम्पन्न भएको छ। उक्त सभा नारी शक्ति तीनधारे महानदी समष्टिको सभापति निरा प्रधानको अध्यक्षतामा सम्पन्न भएको छ भने सभालाई भागोप्रमो तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्मले‌ सञ्चालन गरेका थिए। सभामा भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, ट्रेड युनियन तीनधारे महानदी समष्टिको संयोजक राजेस थापा र सभाध्यक्ष निरा प्रधानले वक्तव्य राखेका थिए। यसै सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय संस्थापक अध्यक्ष अनित थापा र नारी शक्ति केन्द्रीय अध्यक्षा‌ अनु छेत्री प्रधानको निर्देशनमा तीनधारे महानदी समष्टिको नारी शक्तिलाई अझ सशक्त बनाउन नयाँ पदाधिकारीहरु नियुक्त गरिएको छ। पञ्चायत सदस्यद्वय बिनीता गजमेर र रञ्जना छेत्रीलाई नारी शक्ति तीनधारे महानदी समष्टिको उप सभापतिको रुपमा नियुक्त गरिएको छ। त्यसरी नै सांगठनिक सचिवको रुपमा पञ्चायत समिति सदस्या अनिरा तामाङ, पञ्चायत समिति सदस्या दिक्षा छेत्री, सृजना तामाङ, दिपमाला छेत्री र प्रनिता छेत्रीलाई नारी शक्ति तीनधारे महानदी समष्टिको सह सचिवको रुपमा नियुक्त गरिएको छ। त्यसरी नै शिवखोला ग्राम पञ्चायतकी उप प्रधान अम्बिका देवानलाई नारी शक्तिको प्रमुख सल्लाहकारको रुपमा नियुक्त गरिएको छ। यसै सभामा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन नयाँ कमान शाखाका सह सचिवको रुपमा नरेन तामाङलाई नियुक्त गरिएको छ। नयाँ नियुक्त गरिएको पदाधिकारीहरुलाई भागोप्रमो तीनधारे महानदी समष्टिको पदाधिकारीहरुका बाहुलीबाट नियुक्ति पत्र हस्तान्तरण पनि गरिएको छ। सभापछि पत्रकारहरुसित कुराकानी गर्दै भागोप्रमो तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्मले‌ नारी शक्ति तीनधारे महानदी समष्टिको कमिटीलाई‌ अझ शसक्त बनाउन पार्टी अध्यक्ष अनित थापा र नारी शक्ति केन्द्रीय अध्यक्षा‌ अनु छेत्री प्रधानको निर्देशनमा नयाँ पदाधिकारीहरु नियुक्त गरिएको छ।‌ नयाँ पदाधिकारीहरुलाई पार्टीको तर्फबाट नियुक्ति पत्रहरु पनि हस्तान्तरण गरिएको जानकारी गराएका छन्‌‌। यसको साथै नारी शक्तिको समष्टि कमिटीमा‌ नयाँ जिम्मेवारी पाएका पदाधिकारीहरुले‌ पनि पार्टीले‌ दिएको जिम्मेवारीलाई निष्ठापूर्वक पालना गर्ने वचनबद्धता प्रकट गरेका छन्।

About Author

Advertisement