युवा पत्रकार पंकज ढुङ्गेल राम पात्रो मेमोरियल पुरस्कार २०२२-ले सम्मानित

IMG-20220524-WA0185.jpg

गान्तोक। राजधानीस्थित एमजी मार्गको एक होटलमा आयोजित कार्यक्रममा राम पात्रो मेमोरियल पुरस्कार २०२२ पत्रकार पंकज ढुङ्गेललाई प्रदान गरियो। यस अवसरमा राज्यका शहरी विकास विभाग मन्त्री अरूण उप्रेती मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिहरूमा विधायक जीटी ढुङ्गेल र मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्मा रहेका थिए। वर्ष २०२१-२२ को निम्ति उत्कृष्ट पत्रकारिता पुरस्कार ढुङ्गेललाई प्रदान गरिएको हो। यसका साथै वेस्ट वर्किङ जर्नलिस्ट पुरस्कार सिक्किम एक्सप्रेस र हिमाली बेलाका संवाददाता सिलगढी निवासी प्रशान्त आचार्यलाई प्रदान गरियो भने सोही प्रकारले चेत कुमार गुरूङलाई अभिनन्दन जनाइयो। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री उप्रेतीले राज्यका पत्रकारहरूमाथि कुनै दवाब सृजना नगरिएको साथै यहाँका पत्रकाहरूले निष्पक्षरूपमा समाचार लेख्न सक्ने माहौल राज्य सरकारले सृजना गरेको बताए। राज्यका पत्रकाहरूको सुरक्षा हेतु राज्य सरकार सदैव साथमा रहेको पनि मन्त्रीले जानकारी गराए। राज्यका पत्रकारहरूले वास्तवमा नै जनता र समाजको सेवा गरिरहेको उनले दावी गरे। यसरी नै विधायक जीटी ढुङ्गेलले सिक्किमका पत्रकारहरूले अहिलेसम्म राम्रो प्रकारले समाचार सम्प्रेषण गरिरहेको र भविष्यमा पनि यसरी नै काम गर्न सक्ने उनले आशा व्यक्त गरेका छन्। वर्तमान सरकारले पत्रकारहरूलाई स्वतन्त्रता दिएको हुनाले पनि सिक्किममा पत्रकारिताको क्षेत्र फस्टाउने अवसर पाएको जानकारी गराए। यसरी नै मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्माले कोठाभित्र लेखेको साहित्य भन्दा फिल्डमा गएर समाचार संकलन गर्न धेरै कठीन हुने गरेको उल्लेख गरे। वर्तमान परिपेक्ष्यमा प्रिन्ट र डिजिटल गरेर दुई प्रकारको मीडिया रहेको बताए। धेरैले प्रिन्ट मीडिया खस्किन्दै गइरहेको कुरा गरेता पनि प्रिन्ट मीडियामा प्रकाशित समाचार इतिहास भएर सदैव रहने जनाए।निष्पक्ष समाचार प्रकाशित गर्ने समाचार पत्र कहिल्यै पनि नमर्ने उनको भनाइ रहेको छ।

About Author

Advertisement