दार्जीलिङ: दार्जीलिङ नगरपालिकाको गाँडे घाउलाई नगरपालिकाको वर्तमान बोर्डले निको बनाएर छोडने प्रतिवद्धता जनाएको छ। दार्जीलिङमा ठूलो पानी पर्दा बाटोबीचबाट भलहरू बग्ने आदि जस्ता समस्याहरू गाँडे घाउ भएर आएको छl यो गाँडे घाउ नयाँ होइन धेरै पूरानो रहेको दार्जीलिङ नगरपालिकाको भाइस चेयरम्यान याङजी शेर्पाले बताएका छन्। सोमबार परेको मुसलधारे पानीले दार्जीलिङ शहरको विभिन्न क्षेत्रहरूमा पानीको भल बगेको दृश्यहरू समाजिक संजालहरू आएपछि दार्जीलिङ नगरपालिकाले उक्त क्षेत्रहरूमा तुरून्तै गएर भललाई नालाहरूमा हाल्ने काम गरेको भाइस चेयरम्यान शेर्पाले बताए। पानी परेको समयमा दार्जीलिङ शहरको विभिन्न स्थानहरूमा पानीको भलहरू बग्ने धेरै अधिदेखिको नै हो। ‘दार्जीलिङ नगरपालिकामा हाम्रो पार्टीको बोर्ड गठन भएपछि हामीले यी विषयहरूलाई ध्यानमा राख्दै नालाहरू साफसफाई गर्ने कार्यहरू गर्दै आइरहेका छौं, तर पानी पर्नु भनेको प्राकृतिक विषय हो अनि कति बेला पानी पर्छ भन्ने जानकारी प्राप्त गर्ने हामीसँग यन्त्र पनि छैनl तरै पनि पानीको भल समाजिक संजालमा भाइरल भएको देख्ने बित्तिकै हामीले बुच्चिएको नाला खोल्ने कामहरू तुरून्तै गर्न थाल्यौl आज पनि हामी बिहानदेखि नै यी कार्यहरूमा नै लागि परेका छौं’, भाइस चेयरम्यान शेर्पाले भने। ‘पानी पर्दा बाटोमा भल बग्ने आदि जस्ता गाँडे घाउहरू छन् ती घाउहरूलाई हामी निको बनाएर छोडने छौं’, भाइस चेयरम्यान शेर्पाले भने। यस अवधि दार्जीलिङ नगरपालिकाको सफाई विभागीय नगरपार्षद दिपेन ठकुरी, विभागीय अधिकारी आदि उपस्थित थिए।









