गान्तोक: सिक्किम सरकारको सूचना तथा जनसम्पर्क विभागद्वारा आयोजित केरला अवलोकन भ्रमण टोली आज तिरूवन्तपुरम पुगे। सूचना तथा जनसम्पर्क विभाग, सिक्किमका निदेशक उमेश सुनामको नेतृत्वमा गएको पत्रकारहरूको टोलीले सूचना तथा जनसम्पर्क विभाग केरलाका निदेशक टीभी सुबास, अतिरिक्त निदेशक सालिन भी, इलक्ट्रोनिक मीडिया प्रकोष्ठका अतिरिक्त निदेशक भीपी प्रमोद कुमार लगायत विभागीय अधिकारीहरूसित सौह्रार्दपूर्ण भेट गरेका थिए। केरलाका सूचना तथा जनसम्पर्क विभागको पक्षबाट सिक्किमका पत्रकारहरूको टोलीलाई लिएर एउटा परिचयात्मक कार्यक्रम आयोजन गरियो। सभाको आरम्भमा सिक्किम सरकारको आइपीआर विभागका निदेशक उमेश सुनामले अवलोकन भ्रमण अनि सिक्किम सरकारको उद्देश्यमाथि प्रकाश पारे। आफ्नो सम्बोधनमा मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेलाई यस अवलोकन भ्रमण आयोजनको निम्ति आभार प्रकट गरे। यसरी नै सिक्किमका पत्रकारहरूको सेवा सहयोगमा मुख्यमन्त्रीले सधैँ सहयोग गरेको र पत्रकारहरूलाई आफ्नो ठाउँ सँग-सँगै अन्य राज्यहरूमा भइरहेको गतिविधिबारे जानकारी दिलाउन अध्ययन भ्रमणको आयोजन गरेको जानकारी गराए। मुख्यमन्त्री गोलेको सक्रियतामा गत वर्ष सिक्किमका महिला पत्रकारहरूलाई गोवा-मुम्बई अवलोकन भ्रमणमा पठाइसकेको जानकारी पनि आइपीआर सिक्किमका निदेशक उमेश सुनामले आफ्नो सम्बोधनको क्रममा राखे। निदेशक सुनामले सिक्किम सरकारको पक्षबाट सिक्किमको तिमी चिया अनि खदा लगाएर केरलाका अधिकारीहरुलाई सम्मान जनाए। सिक्किमका पत्रकार टोलीलाई सम्बोधन गर्दै केरलाका सूचना तथा जनसम्पर्क विभाग अधिकारीहरुले केरलामा कार्यरत पत्रकार अनि पत्रकारिता क्षेत्रमाथि प्रकाश पारे। केरलामा कार्यरत पत्रकारहरूलाई विभिन्न तहमा केरला सरकारद्वारा पेन्सन योजना लागू गरेको अवगत गराए। केरलमा पत्रकार पेन्सन योजना १९९३ देखि आरम्भ गरिएको पनि उनले जानकारी दिए। पत्रकारिता क्षेत्रमा ५ वर्षदेखि १० वर्षसम्म सेवा दिइसकेका पत्रकारहरूले केरलामा पत्रकार पेन्सन योजनाको लाभ पाउने निदेशक सुबासले जानकारी दिए।