क-कस्ले लिन्छन नगरपालिकाबाट पेट्रोलको कुपन?
बिराट चौक: मोरंग जिल्लाको बेलबारी नगरपालिकाले पेट्रोलको कुपनमा मात्र बार्षिक लाखौ रकम खर्च गरिरहेको छ। नगरपालिकाका कर्मचारीदेखि लिएर राजनीतिक दलका नेता,संघ संगठनका प्रमुख,पत्रकारदेखि केही आसेपासेले समेत पेट्रोलको कुपन लिने गरेको खुलेको छ।
बेलबारी नगरपालिकाका एक कर्मचारीलाई पेट्रोलको कुपन बाँडने नै जिम्मा दिईएपछि पटक पटक खैलाबैला समेत हुँदै आएको छ। ति कर्मचारीले दलका नेतादेखि आसेपासे समेतलाई पेट्रोलको कुपन बाँडेको पाईएको छ। बेलबारीमा रहेका केही पार्टीका नेता र केही पत्रकार बाहेक सबैले पेट्रोलको कुपन लिने गरेको पाईएको छ।
एक बर्षअघि बेलबारी नगरपालिकामा कार्यरत ५ जना कर्मचारी निष्कासन गर्नुपर्छ भन्दै निबेदन नै बुझाउने राजनीतिक दल र तिनका नेताहरु समेत यतिबेला मौन रहेका छन्। कमिसन बिना काम नै नहुने र सानातिना कार्यक्रममा समेत कमिसनको लेनदेन हुने गरेका आरोपका बिच पेट्रोल लिनेहरुको सुची नै बेतना दैनिकलाई प्राप्त भएको छ।
दुई साता अघि बेलबारी नगरपालिकाका सुचना अधिकारी तथा प्रशासन प्रमुख महेन्द्र खडकालाई नगरपालिकाको हित बिपरित काम गरेको भन्दै निष्कासन गर्ने कार्यपालिका बैठकको निर्णय र त्यसपछि सिर्जित अबस्थाले फागुन ५ गते तोकिएको नगरसभा अनिश्चित बनेको छ भने पेट्रोल काण्ड समेत बाहिर आएको छ।







