गान्तोक: सिक्किम सरकरका जनस्वास्थ्य अभियान्तिकी तथा जल संसाधन विभागका मन्त्री सोनाम लामा राजस्थानमा आयोजित अखिल भारतीय राज्य जल मन्त्री सम्मेलन २०२५ मा सहभागी भए। मन्त्री लामाले जल सुरक्षा सुनिश्चित गर्न सिक्किम सरकारको कदमबारे जानकारी गराए। यसबाहेक सिक्किम सरकारले जल सुरक्षा, विशुद्ध जल आपूर्ति, जलस्रोत संरक्षणजस्ता गम्भीर विषयमाथि प्रभावी पहल गर्दै काम गरिरहेको र आमजनमानसलाई पनि सहभागी बनाउने दिशामा काम गरेको जानकारी गराए। राष्ट्रको लागि सुरक्षित र लचिलो जल सुरक्षा सुनिश्चित गर्दै नीतिगत सुधार, प्राविधिक प्रगति साथै नागरिकहरुको सहभागितालाई सम्मेलनले प्रमुखऱता दिएको थियो। सम्मेलनले देशभरिका प्रमुख नीति निर्माताहरू र अधिकारीहरूलाई जल संरक्षण, व्यवस्थापन र दिगोपनसँग सम्बन्धित महत्त्वपूर्ण मुद्दाहरूमा जानकारी गराउने छन्। सम्मेलनको अध्यक्षता भारत सरकारको जलशक्तिका मन्त्री सीआर पाटिलले गरेका थिए। राजस्थानका मुख्यमन्त्री भजनलाल शर्मा, त्रिपुराका मुख्यमन्त्री डा. माणिक शाहा, केन्द्र शासित प्रदेश लदाखका उपराज्यपाल डा. बीडी मिश्रा र हिमाचल प्रदेशका उपमुख्यमन्त्री मुकेश अग्निहोत्री पनि उपस्थित थिए। छलफलको क्रममा, सहभागीहरूले नवीन जल संरक्षण रणनीतिहरू, अन्तर-राज्य सहयोग र दिगो जल स्रोत व्यवस्थापन नीतिहरूको कार्यान्वयनमाथि विचार सलाझा गरेका थिए।










