नाम्ची: नाम्ची जिल्ला अस्पतालमा स्कूल स्वास्थ्य एवं कल्याण कार्यक्रमबारे एक महत्वपूर्ण सत्रको उदघाटन गरियो। यसअन्तर्गत जीवन कौशल पाठ्यक्रमको कार्यान्वयनमा स्कूल स्वास्थ्य र कल्याण राजदूतहरूको लागि कार्यशाला आयोजन गरिएको थियो। राष्ट्रिय किशोर स्वास्थ्य कार्यक्रमको एक भागको रूपमा सिक्किम इन्सपायर्सको सहकार्यमा भएको कार्यक्रम स्वास्थ्य तथा परिवार कल्याण विभागको सहयोगमा भएको हो। उद्घाटन कार्यक्रममा अतिरिक्त जिल्लापाल सुवास घिमिरे प्रमुख अतिथिका रुपमा उपस्थित थिए। कार्यशाला शिक्षकहरूलाई जीवनशैली सीपहरूमाथि तालिम दिने उद्देश्यले गरिएको हो। जसमा मानसिक स्वास्थ्य, लैङ्गिक समानता, पोषण, स्वास्थ्य र सरसफाइ, स्वस्थ जीवनशैली विकास, प्रजनन स्वास्थ्य र एचआईभी रोकथाम, इन्टरनेट र सामाजिक सञ्जालको सुरक्षित प्रयोग आदि विषयबारे चर्चा गरिएको थियो। सम्बोधन गर्ने क्रममा अतिरिक्त जिल्लापाल घिमिरेले स्कूलहरूमा यस अभियानलाई कार्यान्वयन गर्मा सहभागीहरूको महत्त्वपूर्ण भूमिका हुने कुरामा जोड दिए। उनले विभिन्न कारणले हुने अप्राकृतिक मृत्यु संख्या वृद्धिलाई प्रकाश पार्दै कार्यक्रमले यस्ता विषयमाथि प्रभावी कार्य गर्नुपर्ने बताए। युवा पुस्ताको जीवनलाई दिशानिर्देश गर्न यस प्रकारको कार्यक्रमको महत्वमाथि पनि उनले प्रकास पारे। आफ्नो सम्बोधनमा, शिक्षा विभागीय प्रमुख कार्यकारी अधिकृत सुरज राईले सहभागीहरूलाई समयनिष्ठता कायम राख्न र कार्यक्रमको प्रभावकारी कार्यान्वयनको लागि आग्रह गरे। डा. बीके चौहानले स्कूल स्वास्थ्य एवं कल्याण कार्यक्रमको बारेमा जानकारी गराए।










