खरसाङ: खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा आयोजित तेस्रो गोर्खा चेली महिला फूटबल टुर्नामेण्टको उद्घाटन म्याचमा कनकाई स्पोर्टिंग क्लब (नेपाल)-ले जीत हासिल गऱ्यो । जीटीए युवा मामिला एवम् खेलकुद विभागको सहयोगमा आयोजित यस प्रतिष्ठित महिला फूटबल टुर्नामेण्टअन्तर्गत चानमारी खेल मैदानमा भएको उद्घाटन म्याच मा आइतवार कनकाई स्पोर्टिंग क्लबले हिमालयन फूटबल क्लबविरुद्ध ४-०-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट समीक्षा थापाले ह्याट्रिक गरिन्। समीक्षाले स्टार अव् द म्याच-को पुरस्कार जितिन्। आज टुर्नामेण्टको उद्घाटन समारोहमा मुख्य अतिथि रूपमा अनु छेत्री प्रधान (सभापति, पञ्चायत समिति, खरसाङ खण्ड) उपस्थित थिइन्। टुर्नामेण्टमा जम्मा १९ वटा शीर्ष टीमहरूले हिस्सा लिएको छ। फाइनल १८ फरवरीमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।











