बिर्तामोड: अखिल नेपाल महिला संघ झापाको अध्यक्षमा लीला ढुंगेल दाहाल सर्वसम्मत निर्वाचित हुनुभएको छ।
अनेम संघ झापाको शनिवारबाट सुरु भएको दशौं जिल्ला सम्मेलन अन्तर्गत आइतवार भएको उम्मेदवार मनोनयन पत्र दर्ताका क्रममा पदाधिकारीहरूमा आवश्यकता अनुसार मात्र मनोनयन दर्ता भएपछि सर्वसम्मत भएको हो।
कमिटीको उपाध्यक्षमा दुर्गा डाँगी ‘रेणुका’, सिता ढुङ्गाना विश्वकर्मा, सचिवमा कल्पना चम्लागाईं कोपिला, सहसचिवमा ललिता बस्नेत र कोषाध्यक्षमा मञ्जु बस्नेत थापा निर्विरोध निर्वाचित हुनुभएको छ।
निर्वाचन समितिका संयोजक हेमकला कट्टेलका अनुसार सदस्य पदमा ७५ जनाको विभिन्न क्लस्टरबाट चयन गरिनेछ। जसको घोषणा माघ २९ गते जिल्ला पार्टी कार्यालयमा गरिनेछ र सोही दिन दिउँसो १ बजे शपथ ग्रहण र निर्वाचित भएको प्रमाणपत्र वितरण गरिने जनाइएको छ।
दशौं जिल्ला सम्मेलनको शनिवार केन्द्रीय अध्यक्ष टुकाभद्र हमालले उद्घाटन गर्नुभएको थियो।










