रुकूम: श्रीमानले भारतमा रोजगारी गरेर कमाएको पैसाले रूकुमकी २५ वर्षीया जमुना रसाइलीको जीवन राम्रै चलिरहेको थियो। उनि रुकुममा तीन वर्षका छोरा, सासू, ससुरा र एक जना देवरसँगै बस्थिन्। स्कुले शिक्षासम्मको अध्ययन गरेकी जमुना सामाजिक सञ्जाल चलाउँथिन्। व्हाट्सऐप मा एक दिन अपरिचित व्यक्तिले ठूलो धनराशिको चिठ्ठा परेको भनेर उनलाई लोभ देखायो।
उनले त्यो कुरा पत्याइन्। त्यसैले उनले जे जे भने, त्यही गर्दै गइन्। झन्डै आठ–दस लाख रूपैयाँ जतिको चिठ्ठा परेको र परेको चिठ्ठा प्राप्त गर्ने प्रक्रियाका लागि सुरूमा तीन लाख रूपैयाँ रकम जम्मा गर्नुपर्छ भने त्यसपछि उनले सो रकम जोहो गर्न स्थानीय केहीसँग ऋण सापटीमाग्दा पनि नपुगेपछि आफ्ना सुनका गहना बेचिन्।
जब उनले त्यो ठगले भनेजति रकम जम्मा गरिदिइन्, ती अपरिचित व्यक्तिले जमुनालाई ब्लक गरिदिए र सम्पर्कविहीन भए। त्यसपछि बल्ल जमुनाले आफू ठगीमा परेको कुरा बुझिन्। ठगिएको थाहा पाएपछि निराश भएकी जमुनाले श्रीमानलाई फोन गरी आत्महत्या गर्ने बताइन्। श्रीमानले जे हुनु भइसक्यो म कमाएर तिरौंला भनेर धेरै सम्झाउने प्रयास गरे पनि छोरालाई राम्रोसँग पाल्नुहोला भनेर अन्ततः उनी रुखमा झुन्डिएको अवस्थामा फेला परिन्। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।










