काठमाडौं: सफलताका साथ नेपाल, जापानसहित प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ अब अस्ट्रेलियामा रिलिज हुने भएको छ। फरवरी २१ मा पहिलो प्रदर्शन सिड्नीमा हुनेछ भने क्यानवेरा लगायतका अन्य सहरहरूमा प्रदर्शन शुरु हुने अस्ट्रेलियामा वितरण गर्ने कम्पनी इस्सा भाइब इभेन्टका राजजङ्ग क्षेत्रीले बताए। यस चलचित्रको अस्ट्रेलिया रिलिजको लागि इस्सा भाइबले पार्टी टाइम नेपाल, सूरज बिष्ट र अजय राजवंशी संग साथ सहकार्य गरेका छन्। वितरक क्षेत्रीले केही सहरमा रिलिजको सबै तयारी गरिसकेको र केहीको लागि भने बुकिङ ओपन गरेको बताए। जसको लागि इस्सा भाइब इभेन्टको फेसबुक पेजमा सम्पर्क गर्न सकिने उनले जनाए।

नेपालमा दोस्रो हप्तामा चलिरहेको ‘एक्टर: टेक वन’लाई दर्शकबाट ‘टेक टू’को पनि माग हुँदै आएको छ भने यसको क्लाइमेक्सलाई लिएर दश वर्षअघिको चलचित्र ‘लुट’सँग समेत दर्शकबाट तुलना गरिएको छ। यसका निर्देशक राजन भुसालले पनि उल्लेख्य तारिफ प्राप्त गरिरहेका छन्। प्रदिप खड्काले आफूलाई भर्सटाइल अभिनेताको रूपमा यस चलचित्रबाट पुनः प्रमाणित गरेका छन्।

नव नायिका दिव्या रायमाझीलाई दर्शकले स्वागत गरेका छन् भने १० वर्षपछि चलचित्रमा देखिएका अभिनेता राजबल्लभ कोइरालालाई समेत उल्लेख्य रूपमा मन पराइएको छ। केही वर्षको अन्तरालमा चलचित्रमा देखिएकी अभिनेत्री आना शर्माको पनि तारिफ भइरहेको छ। यस चलचित्रमा प्रदिप, आना, दिव्या, राजबल्लभको साथमा दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ। चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन्।










