पाथीभरा केबलकारको विवाद मिलाउन वार्ता समिति

IMG-20250203-WA0108

झापा: ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणलाई लिएर उत्पन्न विवाद समाधान गर्न संघ सरकारले वार्ता समिति गठन गरेको छ।
गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा गठित समितिमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधि रहेका छन्। तर ती मन्त्रालयका प्रतिनिधिको नाम गृह मन्त्रालयले खुलाएको छैन।
गृह मन्त्रालयले केही दिनअघि वार्ता समिति गठन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेको थियो। तर संघीय मामिला मन्त्रालयले यो समस्या बहुपक्षीय सरोकार रहेको तथा शान्ति सुरक्षा व्यवस्थापन समेत गर्नुपर्ने भएकाले अन्य सरोकारवाला निकायसहितको समन्वय र सहजीकरण गृह मन्त्रालयबाटै गर्नु उपयुक्त हुने व्यहोराको पत्र पठाएको थियो।
त्यसपछि गृहबाटै वार्ता समिति गठन गरिएको हो। गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीद्वारा आइतबार २फरबरीमा जारी विज्ञप्तिमा वार्ता टोलीले तत्कालै काम थाल्ने उल्लेख गर्दै आन्दोलनरत पक्षलाई समेत घोषित कार्यक्रम फिर्ता लिई संवादमार्फत समस्या समाधान गर्न अनुरोध गरिएको छ।
आन्दोलनरत पक्ष भने पक्राउ परेका प्रदीप मादेनसहितका तीन जनाको रिहाइ र केबलकार निर्माण स्थगनपछि मात्रै वार्तामा बस्ने अडानमा छ। यसअघि उनीहरूले निर्माणस्थलबाट सशस्त्र प्रहरी फिर्ता हुनुपर्ने माग पनि राख्ने गरेका थिए तर पछिल्लो समय यो माग राखिएको छैन।
पाथीभरा केबलकार निर्माण रोक्न र पक्राउ परेका तीन जनालाई रिहा गर्न स्थानीय प्रशासन तयार नभएपछि ‘नो केबलकार आन्दोलन’ भने लम्बिएको छ। ताप्लेजुङबाट २८जनबरीमा सुरु भएको यातायात बन्द पूर्वका नौ जिल्लामा फैलिइसकेको छ। झापाको दमक, सुनसरीको इटहरीलगायत स्थानमा आइतबार प्रहरी र आन्दोलनकारीबीच झडप पनि भएको छ।
कोशी प्रदेश प्रहरी प्रवक्ता एसपी दीपक पोखरेलका अनुसार आइतबार झापाबाट ८ र सुनसरीबाट ६ जना गरी १४ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दमकमा आन्दोलनकारीले प्रहरीको गाडीको सिसा फुटाएपछि एक राउन्ड हवाई फायर गरेको उनले दाबी गरे। आन्दोलनरत समूहले ताप्लेजुङ, पाँचथरलगायतका जिल्लामा दुई पांग्रे सवारी (मोटरसाइकल), तीनपांग्रे (टेम्पो) समेत चल्न दिएका छैनन्। यातायात बन्दको प्रभाव इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभामा समेत परेको छ।
बन्द खुलाउने र वार्ता गर्ने विषयमा आइतबार २ फरबरी दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा छलफल भएको थियो। आन्दोलनरत समूहमा आबद्ध राजनीतिक दलका प्रतिनिधि, फुङलिङ नगरपालिका प्रमुख, पाथीभरा याङवरक, मेरिङदेन, फक्ताङलुङ, मिक्वाखोला गाउँपालिका अध्यक्ष, जिल्लामा क्रियाशील राजनीतिक दल, उद्योग वाणिज्य संघलगायतका संस्थाका प्रतिनिधि छलफलमा सहभागी थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement