विराटनगर: झापा र मोरङमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। झापामा आज बिहान र मोरङमा हिजो (आइतबार) दिउँसो दुर्घटना भएको हो।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका-१ जुके कल्भर्टमा मे ४ प ९५० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर डाईभर्सनमा ठोक्किँदा चालकको मृत्यु भएको छ। सुरुङगाबाट बिर्तामोडतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटनामा परेर चालकका झापाको झापा गाउँपालिका-६ शरणामतीका अन्दाजी ५० वर्षीय हरिप्रसाद उप्रेतीको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आज बिहान ४ः३० बजेतिर दुर्घटना भएको हो। दुर्घटनामा परेर गम्भीर घाइते भएका उप्रेतीलाई उपचारका लागि बिर्तामोडको बी एन्ड सी अस्पताल लगिएकोमा उपचारका क्रममा चिकित्सकले बिहान ५ः१० बजेतिर मृत घोषित गरेका थिए। मोटरसाइकललाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ। मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
त्यस्तै, पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको उर्लाबारी नगरपालिका–३ मंगलबारेमा मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु भएको छ। पूर्वतर्फ जाँदै गरेको को २८ प २२९३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मोरङको मिक्लाजुङ गाउँपालिका-४ का अन्दाजी ७० वर्षीय फौदसिंह विकको मृत्यु भएको प्रहरीले जनाएको छ।
दक्षिणबाट उत्तरतर्फ बाटो क्रस गर्दै गर्दा मोटरसाइकलले विकलाई आइतबार दिउँसो २ः३० बजेतिर ठक्कर दिएको थियो। प्रहरीका अनुसार गम्भीर घाइते भएका उनको उपचारका क्रममा मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा दिउँसो ४ बजेतिर मृत्यु भएको हो।
दुर्घटनापछि प्रहरीले मोटरसाइकल चालक मोरङको सुन्दरहरैँचा नगरपालिका-१० का १९ वर्षीय अजाद हुसेनलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ। मोटरसाइकल चालकको साथमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएको प्रहरीले जनाएको छ।











