कोलकाता: क्रपलाइफ इण्डिया, जुन देशका प्रमुख घरेलु तथा बहुराष्ट्रिय अनुसन्धान तथा विकास-चालित फसल विज्ञान कम्पनीहरूको संघ हो, यसले साना चिया उत्पादकहरूलाई भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (एफएसएसएआई) का अनुपालन मापदण्ड र फसल सुरक्षा उत्पादनहरूको अधिकतम अवशेष स्तर (एमआरएल) मापदण्डहरू पूरा गर्न तालिम दिन कार्यशालाहरू शुरु गरेको छ। यस अभियानको सहकार्य टोकलाई चिया अनुसन्धान संस्थान र जलपाईगढी जिल्ला साना चिया उत्पादक संघसँग गरिएको छ। यस अभियानको उद्देश्य चियाको खेतीका लागि फसल सुरक्षा उत्पादनहरू (सीपीपी) को सुरक्षित र जिम्मेवार प्रयोगबारे साना चिया उत्पादकहरूलाई व्यापक रूपमा जागरूक बनाउनु हो। विशेष गरी स्वीकृत फसल सुरक्षा उत्पादनहरूको मात्र प्रयोग गर्नुपर्ने दिशानिर्देश पूरा गर्न चिया उद्योग एफएसएसएआईद्वारा निर्धारित मापदण्डहरूको पालना गर्न महत्वपूर्ण चुनौतीहरूको सामना गरिरहेको छ। प्रमुख चुनौतीमध्ये एक हो चिया उब्जनी क्षेत्रमा हरियो चिया पत्ता र तयार चियाको परीक्षण गर्नका लागि प्रयोगशालाको अभाव। यो स्थितिले एफएसएसएआई मापदण्डहरूको पालना गर्न कठिनाई ल्याएको छ, जसले गर्दा साना चिया उत्पादकहरू (एसटीजी) लाई ठूलो नोक्सान हुँदै आएको छ।

हालसालै, क्रपलाइफ इण्डियाको एक प्रतिनिधिमण्डलले पश्चिम बङ्गाल सरकारका ग्राम तथा ग्रामीण विकासमन्त्री प्रदीप कुमार मजूमदारसँग भेट गरी अभियानबारे जानकारी गराएको छ। उत्तर बङ्गालमा करिब ५०,००० साना चिया उत्पादक सक्रिय छन्, जसलाई करिब २४८ चिया पत्ता कारखानाहरूले सहायता पुर्याउँछन्। ती कारखानाहरूले साना चिया उत्पादकहरूबाट हरियो पत्ता संकलन गर्छन्। पश्चिम बङ्गाल सरकारका मन्त्री प्रदीप कुमार मजुमदारले क्रपलाइफ इन्डियाको प्रयासको प्रशंसा गर्दै भने, “साना चिया उत्पादकहरूले पश्चिम बङ्गालको कुल चिया उत्पादनमा ६५% भन्दा बढी योगदान गर्छन्। जलपाईगढी, दार्जीलिङ, उत्तर दिनाजपुर, कोचबिहार र अलिपुरद्वार जस्ता जिल्लाहरूमा यो खेती फैलिएको छ। साना चिया उत्पादकहरूलाई शिक्षित गर्ने र उनीहरूमा जागरूकता ल्याउने प्रयासले उनीहरूको जीविकोपार्जनमा ठूलो सुधार ल्याउनेछ, जसले गर्दा यो अभियान एक उत्कृष्ट र मूल्यवान् पहल बन्नेछ।”
क्रपलाइफ इण्डियाका महासचिव दुर्गेश चन्द्रले भने, “हामी किसानहरूलाई जागरूक बनाउने परियोजनामा सधैं अग्रणी रहेका छौं। साना चिया उत्पादकहरूलाई तालिम दिने यो अभियान सीपीपीको जिम्मेवार र सुरक्षित प्रयोगका साथै व्यक्तिगत सुरक्षा उपकरणहरूको प्रयोगबारे जानकारी प्रदान गर्न केन्द्रित छ। हामीले जलपाईगढी जिल्ला साना चिया उत्पादक संघ र टोकलाई चिया अनुसन्धान संस्थानसँग मिलेर एउटा अभियान तयार गरेका छौं, जसले कटनीको समय अगाडिको अन्तराल अवधिबारे स्पष्ट धारणा दिनेछ।” यस अभियानअन्तर्गत कार्यशालाहरू, क्षेत्रीय प्रदर्शनहरू र जागरूकता अभियानहरू मार्फत साना चिया उत्पादकहरूलाई प्रशिक्षित गरिनेछ। अभियानले एफएसएसएआईका मापदण्डहरू पूरा गर्दै चिया उत्पादनको सुरक्षा र गुणस्तर सुनिश्चित गर्न सहयोग पुर्याउने लक्ष्य राखेको छ। यस पहलले साना उत्पादकहरूलाई घरेलु खपत र निर्यात बजार दुवैका लागि फाइदाजनक हुने गरी अन्तर्राष्ट्रिय खाद्य सुरक्षा मापदण्डहरूको पालना गर्न मद्दत गर्नेछ। फसल सुरक्षा उद्योगले ७८ वर्षदेखि भारतीय कृषिमा योगदान पुर्याउँदै आएको छ र दिगोपन तथा विकासका लागि कटिबद्ध छ। क्रपलाइफ इण्डियाले विज्ञानमा आधारित, व्यवहारिक र दिगो नियामक वातावरण निर्माणमा योगदान पुर्याउँदै किसानहरूको सशक्तिकरणका लागि प्रयास जारी राख्नेछ। प्रस्तुत सामग्री क्रपलाइफ इण्डियाद्वारा जारी गरिएको प्रेस विज्ञप्तिको आधारमा गरिएको होl