गान्तोक: सिक्किम राज्यलाई ड्रग्समुक्त बनाउने दिशामा पुलिसले केही दिनअघिदेखि अभियान शुरू गरेको छ। यस अभियान अन्तर्गत पुलिसले विभिन्न स्थानबाट ड्रग्सको धन्दामा लिप्त हुनेहरूलाई पक्राउ गर्दै आइरहेको छ। यसै क्रममा सिङताम पुलिसले ब्राउन सुगर सहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी सन्दीप तामाङकोरूपमा पुलिसले चिन्हित गरेको छ। आरोपी तामाङले ड्रग्स बिक्री गर्दै आइरहेको सूचना सिङताम पुलिसलाई प्राप्त भएपछि पुलिसले यस विषयलाई गम्भीरतापूर्वक लिँदै पक्राउ गरेको हो। हिजो रातको १० बजी पुलिसले आरोपीलाई सिङतामको लाल बजारबाट पक्राउ गरेको पुलिसले जानकारी गराएको छ। पुलिसले आरोपीबाट ८.५ ग्राम्स ब्राउन सुगर फेला पारेको र आरोपीविरूद्ध एनडीपीएस एक्ट १९८५ अन्तर्गत मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ।