विराटनगर: आर्थिक लेनदेनको विषयमा पटक पटक विवादमा पर्दै आएका विराटनगर महानगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष हिरालाल कामत पक्राउ परेका छन्।
बैकिङ कसुर मुद्दामा वडाअध्यक्ष कामत सोमबार दिउँसो ४ बजेको समयमा उजुरीको आधारमा मोरङ प्रहरीले पक्राउ गरेको हो।मंसिर २५ गते (दिसम्बर १०) मोरङ अदालतबाट पक्राउ पूर्जी जारी भएपछि कामतलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी बेदप्रसाद जोशीले जानकारी दिए। मोरङको जहदा गाउँपालिका ३ का वडाध्यक्ष गुरुदयानन्द ठाकुरको जाहेरीमा कामतलाई पक्राउ गरिएको उनले बताए। कामतले दिएको ५ लाख रुपैयाँको चेक बउन्स भएपछि कात्तिमा उनीविरुद्ध मुद्दा दर्ता भएको थियो।
बैंकिङ कसुरमा पक्राउ परेका कामत जसपाबाट उम्मेदवारी दिएर वडाध्यक्षमा निर्वाचित भएका थिए। उनलाई उजुरी दिने जहदा ३ का वडा अध्यक्ष पनि जसपाबाट निर्वाचित वडा अध्यक्ष हुन्। जिल्ला प्रहरी कार्यालय मोरङले मंगलबार अदालतमा उपस्थित गराई थप अनुसन्धानको पाटोलाई अगाडी बढाउने मोरङ प्रहरीले जनाएको छ।