पोखराको आकाशमा १५ देशका १७ हट एयर बलुन उड्दै

IMG-20241223-WA0049

पोखरा: नेपाल मा पहिलोपटक पोखरामा पुस ९(दिसम्बर २४)देखि १७ (जनबरी १)सम्म हुने बीवाईडी अन्तर्राष्ट्रिय बलुन महोत्सवमा नेपालसहित १५ देशका १७ वटा हट एयर बलुन उड्ने भएका छन्। नेपालमा हट एयर बलुन सञ्चालन गरिरहेको एकमात्र कम्पनी बलुन नेपाल प्रालिले पोखरा पर्यटन परिषद्सँगको सहकार्यमा महोत्सव आयोजना गर्न लागेको हो।
बलुन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। पोखरा–२४ को लौरुकदेखि चंखपुरसम्मको तीन किलोमिटर क्षेत्रमा महोत्सव हुनेछ। महोत्सव अवधिभर हरेक दिन सूर्योदय र सूर्यास्तको समयमा हट एयर बलुन सञ्चालनमा आउनेछन्। नियमित उडानका बेला ९ हजार फिटमाथिसम्म पुग्ने भए पनि महोत्सव अवधिभर भने ५ हजार फिटसम्म मात्रै पुग्नेछ। उडान समय ३० देखि ४० मिनेटको हुन्छ। उडान अवधिमा माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरि हिमाल, पोखरा उपत्यका, फेवाताल, सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्न सकिन्छ।
साहसिक खेलकुदका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले क्रिसमस र अंग्रेजी नयाँ वर्षको अवसर पारेर महोत्सव आयोजना गरिएको महोत्सवका संयोजक एवं पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए।
महोत्सवमा नेपालसहित अमेरिका, बेलायत, स्पेन, लिथुआनिया, थाइल्यान्ड, भियतनाम, फ्रान्स, नेदरल्यान्ड्स, कोरिया, जापान, मलेसिया, इटली, ब्राजिल र अस्ट्रेलियाका पाइलट सहभागी हुनेछन्। नेपालबाहेकका पाइलटले आफ्नै बलुन लिएर पोखरा आउनेछन्। विदेशका १५ र बलुन नेपाल प्रालिले पोखरामा सञ्चालन गरिरहेको २ गरी १७ वटा बलुन महोत्सव अवधिभर उडाइनेछ। महोत्सव स्थलसम्म जानआउनका लागि डिहिकोपाटनबाट निःशुल्क सटल बसको व्यवस्था गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement