झारखण्ड: निलम्बित भाजपा नेता सीमा पात्रा, झारखण्डका सेवानिवृत्त आईएएस अधिकारी बीबी पात्राकी पत्नीलाई कामदार महिलालाई आठ वर्षसम्म यातना दिएको आरोपमा पक्राउ गरिएको छ। पक्रा परेपछि सीमा पात्राले आफूलाई फँसाएको बताइन्। ‘ममाथि लागेका सबै आरोप झुटा हुन्’, उनले भनिन्। सीमा पात्राले २९ वर्षीया आदिवासी महिलालाई आठ वर्षसम्म घरमा बन्धक बनाएर यातना दिएको आरोप छ। पीडित सुनिताले आफूलाई पर्याप्त खाना नदिएको बताइन्। रडले कुटेर तातो तवाले जलाएको उनले बताएकी छिन्l सुनिताले आफू गुम्ला निवासी भएको बताइन्। उनमाथि पहिलादेखि नै दुर्व्यवहार भइरहेको बताइएको छ। उनी नोकरी छोड्न चाहन्थिन् तर आठ वर्षसम्म घरमा बन्धक राखिन्। घर जान आग्रह गर्दा उनलाई अमानवीय तरिकाले कुटपिट गरिएको थियो। बिरामी हुँदा पनि उनको उपचार भएन। सुनिताले एक दिन सरकारी कर्मचारी विवेक आनन्दलाई मोबाइलमा म्यासेज पठाएर आफूमाथि भइरहेको अत्याचारबारे जानकारी गराएपछि राँची पुलिस र जिल्ला प्रशासनको टोलीले अर्गोरा पुलिस थानामा उजुरी दिएर सुनितालाई उद्धार गरेको बताइन्। हाल उनको उपचार भइरहेको छ।