नाइजेरियाको दक्षिण–पश्चिमी शहर इबादानमा क्रिसमस पर्वको अवसरमा आयोजित रमाइलो मेलामा भागदौड मच्चिँदा ३५ बालबालिकाको मृत्यु भएको छ। घटनामा ६ जना गम्भीर घाइते भएका छन्। रमाइलो मेलाका आयोजकहरूले सित्तैमा खाना र पैसा दिने बताएपछि हजारौं बालबालिका मेला हेर्न पुगेका थिए। कार्यक्रम स्थलमा करिब ५ हजार बालबालिका जम्मा भएको र मुख्य आयोजक कार्यक्रम शुरु गर्न पुग्दा भागदौड मच्चिएको स्थानीयले बताएका छन्। पुलिसले मुख्य आयोजक नाओमी सिलेकुनोला, शहरका चर्चित व्यक्तित्वसहित कार्यक्रममा संलग्न आठ जनालाई पक्राउ गरेको जनाएको छ। राष्ट्रपति बोला टिनुबुले आफ्ना सन्तान गुमाएका आमाबाबुप्रति समवेदना प्रकट गर्दै विस्तृत अनुसन्धानको आदेश दिएका छन्।