नेपाल भारत सीमा फुङलिङ-टिप्ताला सड़क कालोपत्र गरिदिन चीन उत्साहित

IMG-20241220-WA0129

फुङलिङ: दुई सरकारबीच (जीटुजी) सहमति भए चीनले ताप्लेजुङ सदरमुकाम फुङलिङदेखि टिप्ताला भञ्ज्याङसम्मको सडक कालोपत्र गरिदिने प्रस्ताव अगाडि सारेको छ। ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा र चीनको तिङ्च्ये काउन्टी पार्टी कमिटीका सचिव थाओ मिङचुन नेतृत्वको टोलीबीच भएको सीमा बैठकमा थाओले यस्तो प्रस्ताव गरेका हुन्।
जीटुजीमार्फत आए आफूहरूले तत्काल काम थाल्नेगरी सडक कालोपत्र गरिदिने प्रस्ताव चीनले पटक/पटक गरेको प्रमुख जिल्ला अधिकारी शर्माले पनि बताए। शर्माको नेतृत्वमा प्रहरी नायब उपरीक्षक रवि रावल, सशस्त्र प्रहरी नायब उपरीक्षक नरेश महर्जन, कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्वोलगायतको टोली सीमा बैठकका लागि तिङ्च्ये काउन्टी गएका थिए।
कोरोना संक्रमणअघि तत्कालीन प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला र त्यसअघि देवराज ढकाल सीमा बैठकका लागि तिङ्च्ये गएका थिए। त्यस बेला तिङ्च्ये काउन्टीका प्रमुखले ओलाङचुङगोलासम्मको सडक कालोपत्र गरिदिने र त्यसका लागि एक अर्ब रुपैयाँ छुट्याउने वचनसमेत दिएको तर त्यतिबेला चीनले जीटुजीको प्रस्ताव नगरेको प्रमुख जिल्ला अधिकारी शर्माको भनाइ छ। अहिले संघीय सरकारबाट भए काम गर्ने प्रस्ताव चीनले गरेको छ।
द्विपक्षीय बैठकमा सीमा सुरक्षा र पिलरको संयुक्त गस्ती गर्ने, वन र वन्यजन्तुको अवैध ओसारपसार नियन्त्रण गर्ने, सीमा आउजाउ गर्नेले बोकेको सामानमा कडाइ गर्ने र तर पासवाहकको आउजाउमा सहजता अपनाउनेलगायतका विषयमा छलफल भएको शर्माले बताए। सीमानजिकका बस्तीमा प्राकृतिक विपत्ति परे एक अर्कालाई सहयोग आदानप्रदान गर्ने, सूचना आदानप्रदान गर्ने, स्थानीय उत्पादनको बजारीकरणमा समन्वय गर्ने जस्ता विषयमा छलफल भएको पनि प्रजिअ शर्माले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement