गान्तोक: लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले आज नयाँ दिल्लीमा विश्वविद्यालय अनुदान आयोग (यूजीसी) का अध्यक्षसँग सिक्किम विश्वविद्यालयमा लोपोन्मुख भाषाहरूको लागि केन्द्र (सीईएल) ले सामना गरिरहेको तत्काल आर्थिक चुनौतीहरूको बारेमा छलफल गर्न भेट गरेका छन्।
सो भेटका क्रममा सांसद सुब्बाले पूर्वी हिमालय क्षेत्रका लोपोन्मुख भाषाहरूको संरक्षणमा केन्द्रको महत्वपूर्ण प्रयासलाई सहयोग पुऱ्याउन कोषको निरन्तरताको लागि अनुरोध गर्दै एक औपचारिक ज्ञापन पत्र समेत प्रस्तुत गरेका थिए।
उनले सन् २०१६ मा युजीसीको आर्थिक सहयोगमा स्थापना भएको सीईएलले लोपोन्मुख भाषाहरूको अभिलेखीकरण, प्रवर्द्धन र संरक्षणमा उल्लेखनीय प्रगति गरेको जानकारी गराए। उनले भुजेल, मगर, गुरुङ, शेर्पा र राई-रोकदुङ जस्ता लोपन्मुख भाषाहरूको सुरक्षा र दस्तावेजीकरणका लागि केन्द्रले उल्लेखनीय काम गरेको बताए। उनले केन्द्रले सिक्किम-दार्जिलिङ हिमालय लुप्तप्राय भाषाहरू अभिलेख स्थापना गरेको पनि जानकारी गराए, जुन देशकै पहिलो लुप्तप्राय: भाषाहरूको अभिलेख हो।
यूजीसीले कोष रोकेकोमा चिन्ता व्यक्त गर्दै यसले केन्द्रको कामकाज प्रभावित बनेको सांसदले बताए। उनले केन्द्रको तत्वावधानमा जारी अनुसन्धानहरूका लागि तत्काल वित्तीय हस्तक्षेपको आवश्यकतामाथि जोड दिए। उनले भारतको समृद्ध भाषिक विविधताको संरक्षणमा सीईएलको कामको महत्वमा जोड दिॅंदै यूजीसी अध्यक्षलाई यस अमूल्य परियोजनाको निरन्तरतालाई सक्षम बनाउन शीघ्र कोष जारी गर्न आग्रह गरे।
यूजीसी अध्यक्षले यस विषयलाई उच्च प्राथमिकताका साथ समीक्षा गरिने आश्वासन दिएका छन्। सांसद इन्द्रहाङ सुब्बाले सकारात्मक समाधानको आशा व्यक्त गर्दै यस क्षेत्रको भाषिक र सांस्कृतिक सम्पदाको संरक्षण गर्ने कार्यमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।