धरान: धरान उपमहानगरपालिका १५ बाट नियन्त्रित औषधीसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
बिहीबार (आज)स्थानीय ३० वर्षीय डिकन राईको घरमा लागूऔषध कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बरगाछीबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो।
उनको घर खानतलासी गर्दा कोठामा लुकाएर राखेको नियन्त्रित औषधी ट्रामाडोल र स्पासपेन गरी जम्मा चार हजार चार सय क्याप्सुल, २१ हजार पाँच सय रुपैयाँसहित डिकन र २३ वर्षीया सुमित्रा राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ परेका उनीहरूको सम्बन्धमा इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।