नाम्चीको सेन्ट्रल पार्कमा जिल्लास्तरीय रूपमा तीज पालन

नाम्ची: आज तीज पर्व नाम्चीको सेन्ट्रल पार्कमा जिल्लास्तरीय रूपमा पालन गरियो। यस कार्यक्रममा संस्कृति विभागका सल्लाहकार भीमकुमारी शर्मा मुख्य अतिथि रहेकी थिइन्। उक्त कार्यक्रमको आयोजना नाम्चीको तीज आयोजक समितिले आयोजना गरेको थियो। कार्यक्रममा नाम्ची ब्रह्म कुमारी केन्द्रकी सञ्चालक शकुन छेत्रीलाई अभिनन्दन गरियो। मुख्य अतिथि भीमकुमारी शर्माले आफ्नो सम्बोधनमा तीज पर्व पालन गरेकोमा आयोजकवर्गलाई धन्यवाद दिइन्। उनले एसकेएम सरकारद्वारा नारीहरूको हितमा धेरै राम्रा-राम्रा योजनाहरू शुरू गरिएको बताउॅंदै सरकारलाई धन्यवाद दिइन्।

कार्यक्रममा सम्बोधन गर्दै जोरथाङ-नयाँ बजार नगर पञ्चायतका अध्यक्ष पवित्र मानवले ड्रग्सले समाजमा धेरै विकृति ल्याएको र यो समाजको लागि अभिसाप बनेको बताए। उनले यसलाई समाजबाट उखेलेर फ्याक्न सबैको जिम्मावरी रहेको बताए। उनले वर्तमान सिक्किम सरकारले नारीहरूको सशक्तिकरणका लागि शुरू गरिएका योजनाहरू विषय प्रकाश पारेका थिए।

कार्यक्रममा शिक्षा विभागका संयुक्त निर्देशक जीपी शर्माले तीज पर्वको महत्त्व विषय जानकारी गराए। कार्यक्रममा नाम्ची जिल्लाका विभिन्न स्थानका सामाजिक संस्था र स्कूलहरूले साँस्कृतिक गीत, नृत्य आदि प्रस्तुत गरेका थिए। यस अवसरमा जिल्ला पञ्चायत अध्यक्ष छिरिङ डेम भोटिया, एससीपीसीआरका अध्यक्ष रोमा तामाङ, खादी एवं ग्रामीण उद्योग बोर्डकी अध्यक्ष छुङछुङ भोटिया, भवन एवं आवास विभागका अध्यक्ष टाँसी दोर्जे तामाङ, नाम्ची नगर परिषदका अध्यक्ष गणेश राई, कौशल विकास विभागका सल्लाहकार सतिशचन्द्र राई आदिको पनि विशेष उपस्थिति रहेको थियो।

About Author

Advertisement