गान्तोक: भारतीय सेनाको त्रिशक्ति कर्प्सद्वारा अपरेशन सद्भावनाअन्तर्गत आयोजित सिक्किम राइजिङ स्टार २.० अण्डर-१७ फूटबल टुर्नामेन्टको दोस्रो दिन आज दुईवटा म्याच गान्तोकको पाल्जोर स्टेडियम र अन्य दुईवटा म्याच नाम्चीको भाइचुङ स्टेडियममा सम्पन्न भयो। नाम्चीको भाइचुङ स्टेडियममा पहिलो म्याच यङ्ग बोइस फूटबल एकाडेमी, गेजिङ र सिनाल्चु एफसी बीच भयो जसमा सिनाल्चु एफसी ० को विरुद्ध २ गोलले विजयी बन्यो। सिनाल्चु एफसी-को पक्षमा शेराप तामाङ र निखिल प्रधानले एक-एक गोल गरे। दुवै गोल म्याचको पुर्वार्धमा भएको थियो। दोस्रो म्याच फ्रेण्ड्स फूटबल क्बल र फ्रेण्ड्स फरएभर एससी बीच भएको थियो जसमा फ्रेण्ड्स फरएभर एससी १को विरुद्ध ३ गोलले विजयी बन्यो। खेलको ८ र ९औं मिनटमा छिरिङ भोटियाले भटाभट दुई गोल गरेर फ्रेण्ड्स फरएभर एससी-लाई अग्रता दिलाएका थिए। पछि अनिल मतामाङले अझ एक गोल गरे। फ्रेण्ड्स फूटबल क्लबको पक्षमा एक मात्र गोल दोस्रो हाफमा पुनल लेप्चाले गरे। अर्कोतिर पाल्जोर स्टेडियममा पनि आज दुईवटा म्याच सम्पन्न भयो। पहिलो म्याच गान्तोक हिमालयन एससी र एकाडेमी नाइट्स फूटबल क्लब बीच भएको थियो। एकतर्फी म्याचमा गान्तोक हिमालय एससी ० को विरुद्ध ५ गोलले विजयी बन्यो। गोन्तोक हिमालयन एससी-को पक्षमा मोक्ष उप्रेतीले दुई गोल गरे भने गोल्पो भोटिया, छोडेन भोटिया र सोनाम काजीले एक-एक गोल गरे।
दोस्रो म्याच छुजाचेन एसए र पाण्डम एफए बीच भएको थियो जुन २-२ गोलको बराबरीमा समाप्त भयो। पाण्डम एफए-को पक्षमा मिक्जेल भोटिया र अनमोल गिरीले गोल गरे भने छुजाचेन एसए-को पक्षमा छोपेल शेर्पा र छिरिङ लेप्चाले गोल गरे।