गान्तोक: पाकिम जिल्ला अन्तर्गत सञ्चालित पीएमश्री चन्द्रलाल सरकारी उच्चतर माध्यमिक विद्यालयले आज प्लेटिनियम जुबली विभिन्न कार्यक्रम सहित भव्यरूपमा पालन गऱ्यो। यस विद्यालयको स्थापना भएको ७५औं वर्षको अवसरमा आयोजित कार्यक्रममा सिक्किम विधानसभाका अध्यक्ष एमएन शेर्पा मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिमा मन्त्री पुरण गुरूङ, मन्त्री राजु बस्नेत, विधायक एलबी दास लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका पूर्व छात्र तथा अध्यक्ष एमएन शेर्पाले यसको विरासतको अंग हुन पाएकोमा गर्व महसुस गरे। उनले शैक्षिक उत्कृष्टता प्रवर्द्धनमा शिक्षाको महत्त्वपूर्ण भूमिका र सरकारद्वारा शुरू गरिएको शिक्षकहरूको सामूहिक जिम्मेवारीमाथि जोड दिए। उनले सरकारको प्रतिबद्धतामाथि प्रकाश पार्दै संस्थाले प्रस्तुत गरेको मागबारे आफ्नो तर्फबाट पहल गर्ने आश्वासन दिए। यसका साथै उनले भविष्यमा विद्यालय कार्यक्रमहरूलाई शिक्षासँग जोडनु पर्ने यस विषयमा अन्तक्रिया गरिनु पर्ने सुझाउ दिए।सोही क्रममा मन्त्री पुरण गुरूङले विद्यालयलाई ७५ वर्षको यात्रामा बधाई दिँदै शैक्षिक विकासमा राज्य सरकारको प्रयासको लागि कृतज्ञता व्यक्त गरे। यसका साथै विद्यालयका पूर्व छात्रहरूको योगदानलाई सम्झिए र विद्यालयको संरक्षणबारे पहल गर्ने सुझाउ दिए।