३१ दिसम्बर सिलगढीमा सम्पन्न हुने द्विदिवसीय सद्‍‍भावना सम्मेलन तयारी द्रुतगतिमा

WhatsApp-Image-2024-12-12-at-07.26.15-1

सिलगढी: प्रत्येक वर्ष सिलगढीमा आयोजना हुने सद्‍‍भावना सम्मेलन यसपाली पनि सिलगढीको सालुगढास्थित उत्तर पलासको मानव धर्म आश्रमको प्राङ्गणमा ३१ दिसम्बर र १ जनवरीमा सम्पन्न हुनेछ। मानव उत्थान सेवा समिति उत्तर पूर्वाञ्चल क्षेत्रको आयोजनामा सम्पन्न हुने यो विशाल धर्म सम्मेलनमा मानव धर्मका प्रणेता सतपाल महाराजले प्रमुख रुपमा सम्बोधन गर्नेछन्। उनको साथमा उनको परिवारका सबै सदस्यहरूको पनि उपस्थिति रहनेछ। यसबाहेक भारतका विभिन्न तीर्थस्थलहरूबाट साधु सन्तहरूले पनि आफ्ना प्रवचनहरू सुनाउने छन्।

कार्यक्रममा आध्यात्मिक लाभ प्राप्त गर्नको निम्ति स्थानीय क्षेत्र मात्र होइन, भारतका विभिन्न प्रान्तहरू अनि छिमेकी राष्ट्र भोटाङ, नेपाल लगायत विदेशतिरबाट पनि भक्त समुदायको उपस्थिति रहने कुरो मानव उत्थान सेवा समिति उत्तर पूर्वाञ्चल क्षेत्रका प्रभारी महात्मा दीपिका बाईजीले बताएकी छन्। कार्यक्रमलाई सफलता प्रदान गर्नको निम्ति विशाल सत्सङ्ग पण्डाललाई स्थायी रुपमा निर्माण गरिन्दैछ अनि यो लगभग पूरा हुन आँटेको छ, उसै गरी विभिन्न क्षेत्रबाट आउने साधु सन्तको निम्ति पनि स्थायी आवास र विशिष्ट अतिथिहरूको निम्ति स्थायी पाकशालाको निर्माण भइरहेको छ भने विशाल भण्डारा, शौचालयहरूको निर्माण पनि शुरु भइसकेको छ।

कार्यक्रममा विभिन्न क्षेत्रबाट आउने भक्त समुदायलाई बस्नको निम्ति अस्थायी आवासहरू धमाधम बनिन्दैछ जसमा जलपाइगढी, दार्जीलिङ, सिक्किम, कालेबुङ, नेपाल, भोटाङ, विहार तथा अन्यन्य राज्यको निम्ति अलग अलग अस्थायी आवास व्यवस्थाहरूको प्रबन्ध भइरहेको छ। कार्यक्रमको भीडलाई मध्यनजरमा राखेर विशेष आवासहरूको पनि व्यवस्था भइरहेको छ। कार्यक्रमलाई व्यवस्थित रुपमा संचालन गर्न मानव सेवा दलका टोलीहरूले विभिन्न क्षेत्रहरूको देखरेख गर्नेछन, मानव उत्थान सेवा समितिका वरिष्ठ कार्यकर्ता र स्वयंसेवक सेविकाहरू विगत धेरै महिनाहरूदेखि निरन्तर सेवा कार्यमा लागेर कार्यक्रमलाई सफल बनाउन भरमग्दुर कोशिश गरिरहेकाछन।

चौडादार बाटाघाटाहरू, ट्राफिक व्यवस्थालाई सुचारू गर्न पुरजोर कार्य चलिरहेको छ , प्रान्तपाल भीमप्रकाश राईको अगुवाईमा सम्पूर्ण निर्माण कार्य अघि बडिरहेको छ, समिति र सेवा दलका सबै अधिकारीहरू अहिले घरि मानव धर्म आश्रमको कार्यक्रम परिसरमा दिनरात खटिरहेका छन्।  कार्यक्रममा ३१ दिसम्बरको राति १२ बजे नयाँ साललाई हजारौं मोम बत्ती बालेर स्वागत गरिने छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement